Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

म्याग्दीको रघुगङ्गा जङ्गलमा २ थान भरुवा बन्दुक फेला

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ अन्तर्गत पर्ने झीँ गाउँको जंगलमा बेवारिसे अवस्थामा लुकाइराखिएका दुई थान भरुवा बन्दुक फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयको सूचनाका आधारमा पाखापानी प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले  पाखापानीको जंगलबाट ती भरुवा बन्दुक बरामद गरेको हो। जंगलमा लुकाएर रातको समयमा चोरीसिकारीमा प्रयोग हुने गरेको आशङ्का प्रहरीले गरेको छ।

बरामद बन्दुकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ग्रामीण क्षेत्रमा वन्यजन्तुको सिकारमा प्रयोग भइरहेका अवैध भरुवा बन्दुकले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्न सक्ने जोखिमलाई मध्यनजर गर्दै खोज अभियान सञ्चालन गरिएको हो।

उनका अनुसार सोही अभियानअन्तर्गत यसअघि नै ११५ थान भरुवा बन्दुक फेला परिसकेको छ। 

जिल्ला प्रहरी कार्यालयले मङ्सिर १५ गतेदेखि जिल्लाभरका प्रहरी युनिट परिचालन गरी ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन अपरेसन सञ्चालन गर्दै आएको छ। निर्वाचनका बेला लुकाइराखिएका हतियार प्रयोगमा आउन सक्ने भन्दै विभागबाट परिपत्र आएपछि खोजतलास तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक थापाले अवैध बन्दुक भएमा स्वेच्छाले प्रहरीलाई बुझाउन वा सूचना दिन सबैमा आग्रह गरेका छन्। अवैध भरुवा बन्दुकसहित फेला परेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको उनले बताए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार