NL न्यूज
विराटनगर । मोरङको रंगेली नगरपालिका–५ मा एक युवकले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार रंगेली–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घर पुगेर श्रीमतीको हत्या गरेपछि आफैं घाँटी रेटेर आत्महत्या गरेका हुन् । घटनास्थल रंगेली–५ धनपट्टीस्थित ससुराली घर हो ।
प्रहरीका अनुसार मुकेश सोमबार साँझ ससुराली पुगेका थिए । प्रारम्भिक अनुसन्धानमा घरेलु विवादका क्रममा मुकेशले अन्दाजी २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डललाई चक्कु प्रहार गरी हत्या गरेको खुलेको छ । चक्कु प्रहारबाट अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनाको वास्तविक कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान जारी रहेको डीएसपी लामिछानेले जानकारी दिए। थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्