Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्र बैंकको ६ महिनाको समीक्षाले कस्तो देखियो देशको वर्तमान अर्थतन्त्र ? (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनाको (पुस मसान्तसम्म) आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समग्र अर्थतन्त्र सन्तोषजनक दिशामा अघि बढिरहेको जनाएको छ। केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति न्यून स्तरमा सीमित रहँदा विदेशी मुद्रा सञ्चिति, विप्रेषण, चालु खाता तथा शोधनान्तर सन्तुलन उल्लेख्य रूपमा सबल बनेका छन्।

मुद्रास्फीति नियन्त्रणमा, उपभोक्ता मूल्य २.४२ प्रतिशत
प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ। यो पछिल्ला वर्षहरूकै न्यून दरमध्ये एक हो, जसले उपभोक्तामाथिको महँगीको दबाब घट्दै गएको संकेत गर्छ।

विदेशी मुद्रा सञ्चिति २२ अर्ब डलर नाघ्यो, १८ महिना आयात धान्न पर्याप्त
कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो। राष्ट्र बैंकका अनुसार यो सञ्चिति वस्तु तथा सेवा आयातका लागि १८.१ महिनासम्म धान्न पर्याप्त रहेको छ। यसले बाह्य क्षेत्रको मजबुती र भुक्तानी सन्तुलनको जोखिम न्यून हुँदै गएको संकेत गर्छ।

चालु खाता र शोधनान्तर दुवैमा बलियो बचत
समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर पाँच खर्ब एक अर्ब २४ करोड रुपैयाँ बचतमा पुगेको छ। यो तथ्यांकले बाह्य कारोबारतर्फ नेपालले उल्लेख्य सन्तुलन कायम गरेको देखाउँछ।

विप्रेषणमा दोहोरो अंकको उछाल
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.१ प्रतिशत र अमेरिकी डलरमा ३२.३ प्रतिशतले वृद्धि भएको छ। पुस महिनामा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ बराबरको विप्रेषण नेपाल भित्रिएको छ। विप्रेषण वृद्धिले उपभोग, विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीको तरलतामा सकारात्मक प्रभाव पारेको छ।
निर्यात उछाल, आयातमा मध्यम वृद्धि
विदेश व्यापारतर्फ निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको छ। निर्यातको तुलनात्मक रूपमा उच्च वृद्धिले व्यापार घाटा नियन्त्रणमा सहयोग पुगेको देखिन्छ।
सरकारी खर्च र राजस्व परिचालन
यस अवधिमा नेपाल सरकारको कूल खर्च ६९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ५७७ अर्ब ४० करोड रुपैयाँ रहेको छ। खर्च र आम्दानीबीचको अन्तरले बजेट कार्यान्वयनको गति भने अझै चुनौतीपूर्ण रहेको संकेत गर्छ।
मौद्रिक सूचक: कर्जा विस्तार सुस्त, निक्षेप स्थिर
विस्तृत मुद्राप्रदाय (M2) समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ भने वार्षिक आधारमा १४.२ प्रतिशतको वृद्धि देखिएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले मात्रै वृद्धि भएको छ।
वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको छ, जसले कर्जा विस्तार अपेक्षाकृत सुस्त रहेको संकेत गर्छ।
ब्याजदर न्यून, अन्तरबैंक दर २.७५ प्रतिशत
बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ भने ९१ दिन अवधिको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत कायम भएको छ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत रहेको छ।

पूरा पढ्नुहोस् ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार