NL न्यूज
प्युठान । प्युठान प्रतिनिधिसभा निर्वाचन क्षेत्र फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँ १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । कम्युनिस्ट आन्दोलनको ऐतिहासिक थलो मानिने प्युठानमा यसपटक चुनाव केवल उम्मेदवारबीचको प्रतिस्पर्धा होइन—राजनीतिक निरन्तरता, परिवर्तन र मतदाताको मनोविज्ञानको परीक्षा बनेको छ ।
कम्युनिस्ट आन्दोलनको जन्मथलो
प्युठानको राजनीतिक इतिहास नेपाली कम्युनिस्ट आन्दोलनसँग गहिरो रूपमा गाँसिएको छ । मोहनविक्रम सिंहले २०१० सालमै प्युठानमा कम्युनिस्ट पार्टी स्थापना गर्दै जिल्लाभर संगठन विस्तार गरेका थिए । यही भूमि मोहन वैद्यजस्ता वैचारिक नेताको जन्मथलो पनि हो ।
तर २०१७ सालमा राजा महेन्द्रद्वारा सिंहसहित कम्युनिस्ट नेताहरू पक्राउ परेपछि नेकपा छिन्नभिन्न भयो। त्यसपछि सुरु भयो एकीकरण, विभाजन र पुनःसंरचनाको लामो शृंखला—केन्द्रीय न्युक्लियस, चौथो महाधिवेशन, नेकपा चौम, मशाल र मसालसम्मको यात्रा।
चुनाव बहिष्कारदेखि संसदीय प्रयोगसम्म
२०४८ सालको आम निर्वाचनमा मोहन वैद्य नेतृत्वको मशाल चुनावमा सहभागी हुँदा सिंह नेतृत्वको मसालले संविधानसभाको मागसहित चुनाव बहिष्कार गर्यो। यसको प्रत्यक्ष असर प्युठानमा पर्यो—दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस विजयी भयो। पछि रणनीति फेरिँदै गयो। २०५१ को मध्यावधि निर्वाचनमा स्वतन्त्र उम्मेदवारी, त्यसपछि राष्ट्रिय जनमोर्चाको गठन र २०५६ को चुनावमा प्युठानका दुवै क्षेत्रसहित पाँच सिट जित्नु—प्युठान वामपन्थी प्रयोगशालाजस्तै बन्यो।
माओवादी उदय, एमालेको पुनरागमन
२०६४ को संविधानसभा निर्वाचनमा प्युठानका दुवै क्षेत्रमा नेकपा माओवादी केन्द्र विजयी भयो। तर २०७० मा परिस्थिति फेरियो—माओवादी केन्द्रले दुवै सिट गुमायो र एमाले उदायो ।
संविधान जारी पछि निर्वाचन क्षेत्र समायोजन हुँदा दुई क्षेत्र रहेको प्युठान एक क्षेत्रमा सीमित भयो । २०७४ मा वाम गठबन्धनको बलमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भइन् । तर २०७९ मा पाँच दलीय गठबन्धन हुँदाहुँदै पनि उनी पराजित भइन् र एमालेका सूर्यबहादुर थापा क्षेत्री निर्वाचित भए ।
दोहोरिने इतिहासको खोज
प्युठानमा शिवराज सुवेदी र नवराज सुवेदीबाहेक अधिकांश सांसद दोहोरिन सकेका छैनन् । यही इतिहासबीच ३९ महिनापछि सूर्यबहादुर थापा क्षेत्री पुनः उम्मेदवार बनेका छन् । उनी दोस्रो पटकको जित र शिवराज–नवराजको रेकर्ड बराबरी गर्ने प्रयासमा छन् ।
को–को छन् मैदानमा ?
यसपटक प्युठानमा प्रमुख उम्मेदवारहरू यस्ता छन्—
सूर्यबहादुर थापा क्षेत्री – नेकपा एमाले
गोविन्दराज पोखरेल – नेपाली कांग्रेस
कृष्णध्वज खड्का – नेकपा
सुशान्त वैदिक – राष्ट्रिय स्वतन्त्र पार्टी
तिलकबहादुर जीसी – राष्ट्रिय जनमोर्चा
धनेश्वर पण्डित – राष्ट्रिय प्रजातन्त्र पार्टी
यसका अतिरिक्त श्रम संस्कृति पार्टीसहित १४ जना उम्मेदवार मैदानमा छन्।
२०७९ को नतिजा : एमालेको स्पष्ट अग्रता
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्युठानबाट एमालेका सूर्यबहादुर थापा क्षेत्रीले ४१,११८ मत ल्याएर जित निकालेका थिए। उनका निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादीको साथ पाएकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५,८१४ मत पाएकी थिइन्।
समानुपातिक मत परिणामले पनि एमालेको सांगठनिक शक्ति देखाउँछ—
एमाले : ३३,८०४ मत
कांग्रेस : १७,८५१ मत
माओवादी केन्द्र : १३,३०३ मत
राष्ट्रिय जनमोर्चा : ९,९५९ मत
रास्वपा : ५,८५१ मत
संगठन बलियो, मनोविज्ञान अनिश्चित
प्युठानमा एमालेको सांगठनिक आधार बलियो देखिए पनि मतदाताको मनोविज्ञान स्थिर छैन। स्वर्गद्वारी बहुमुखी क्याम्पसका राजनीतिशास्त्र उपप्राध्यापक शिवराज पण्डितका अनुसार, “यहाँ मतदाताको सोच गतिशील छ, अनुहार दोहोरिन नसक्नु त्यसकै प्रमाण हो।”
उनका अनुसार जेन–जी आन्दोलनपछि एमाले, कांग्रेस र रास्वपाबीच मुख्य प्रतिस्पर्धा देखिन्छ। विदेशमा रहेका युवाको प्रभाव, सामाजिक सञ्जाल र विगतका घटनाको पुनर्मूल्यांकनले चुनावी परिणाम प्रभावित गर्न सक्छ।
इतिहास दोहोरिन्छ कि भंग हुन्छ ?
प्युठानको यो चुनाव केवल सिट जित्ने प्रतिस्पर्धा होइन। यो प्रश्न हो— पुरानो इतिहास दोहोरिन्छ कि मतदाताले नयाँ मोड दिन्छन् ?
२ नगरपालिका र ७ गाउँपालिकासहित १ लाख ६५ हजारभन्दा बढी मतदाताले दिने फैसला फागुन २१ ले मात्र स्पष्ट गर्नेछ। प्युठान अहिले शान्त देखिन्छ, तर भित्रभित्रै राजनीतिक हिसाब–किताब तीव्र छ।





प्रतिक्रिया दिनुहोस्