Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा बालेन शाहसहित नौ जनालाई स्पष्टीकरण सोधेको छ। शनिबारसम्म २१ जनालाई स्पष्टीकरण माग गरिसकेकामा आइतबार र सोमबार नौ जनाको सूची थपिएको हो।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार रास्वपा झापा–५ का उम्मेदवार बालेन्द्र शाहलाई पनि दोस्रोपटक स्पष्टीकरण माग गरिएको हो। चुनाव प्रचारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको देखिने श्रव्यदृश्य सामग्री प्राप्त भएको भन्दै आयोगले जवाफ मागेको हो।

यस्तै बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अपमानजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको उजुरी प्राप्त भएको छ। थापालाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिइएको छ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सिन्धुपाल्चोक–१ का निर्वाचन कार्यालय बाहिर दलको चुनावी चिन्ह पेन्ट गरेर राखिएको उजुरीका आधारमा आयोगले सो दलका जिल्ला कार्य समितिलाई स्पष्टीकरण पेश गर्न आदेश दिएको छ। सोही विषयमा उम्मेदवार माधव सापकोटलाई पनि स्पष्टीकरण सोधिएको छ।

यसैगरी आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ। अहिलेसम्म २९ मध्ये १४ जनाको जवाफ प्राप्त भएको प्रवक्ता जिसीले जानकारी दिए।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार