Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पश्चिमी न्यून चापीय प्रणाली पुनः सक्रिय, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बन्दै गएपछि मौसम बदली हुने भएको छ। अघिल्लो मङ्गलबार र बुधबार वर्षा तथा हिमपातपछि खुलेको मौसम एक हप्ता नबित्दै पुनः बदली हुने संकेत देखिएको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारदेखि नै सुदूरपश्चिम क्षेत्रमा प्रणालीको हल्का असर देखिन थालेको छ। यो प्रणाली सोमबार थप सक्रिय भई पश्चिम नेपालका उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिने र मङ्गलबार मध्य नेपालसम्म विस्तार हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार यसपटक पश्चिमदेखि मध्य नेपालसम्म प्रणालीको असर देखिनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने र अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशको माथिल्लो पहाडी भूभागमा पनि आंशिक असर देखिन सक्ने भए पनि तराई र मधेश प्रदेशमा भने प्रभाव न्यून रहनेछ। काठमाडौँ उपत्यकामा मङ्गलबार राति छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ।

सोमबार तराईका केही स्थानमा हुस्सु–कुहिरो लाग्ने तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मङ्गलबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात–वर्षा तथा अन्य हिमाली क्षेत्रमा हल्का हिमपात–वर्षाको सम्भावना रहेको छ।

राति पनि पश्चिम र मध्य नेपालका पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षा जारी रहने अनुमान गरिएको छ। सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही भूभाग तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार