Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पूर्वी युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ खानी मजदुरको ज्यान गयो

पूर्वी युक्रेनमा रुसी ड्रोन आक्रमणमा परी १२ जना खानी मजदुरको ज्यान गएको छ।

युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटेकका अनुसार काम सकेर फर्किरहेका मजदुरहरू चढेको बसलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको हो। आक्रमणमा कम्तीमा सात जना घाइते भएका छन्। बीबीसीका अनुसार घाइतेहरूको उपचार भइरहेको छ।

यस्तै, सोही क्षेत्रमा रहेको एक प्रसूति अस्पतालमा समेत ड्रोन आक्रमण हुँदा सुत्केरी महिलासहित ६ जना घाइते भएका छन्। आक्रमणबाट अस्पतालका झ्यालहरू फुटेका छन् भने भवनभित्र आगलागीसमेत भएको थियो। घटनापछि अस्पतालमा रहेका बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यस आक्रमणमा हालसम्म कुनैको मृत्यु नभएको जनाइएको छ।

युक्रेनी अधिकारीहरूले यी आक्रमणलाई नागरिक लक्षित युद्धको रूपमा व्याख्या गरेका छन्। युक्रेनका विदेशमन्त्री आन्द्रेई सिबिहाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति प्रयासको विपरीत नागरिकमाथि आक्रमण जारी राखेको आरोप लगाएका छन्।

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस, युक्रेन र अमेरिकाबीच हुने त्रिपक्षीय शान्ति वार्ता बुधबार अबुधाबीमा सुरु हुने जानकारी दिएका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार