Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

गाजा युद्धमा करिब ७० हजार प्यालेस्टिनी मारिएको इजरायली सेनाको स्वीकारोक्ति

इजरायली सेनाले गाजा युद्धमा हालसम्म करिब ७० हजार प्यालेस्टिनीको मृत्यु भएको स्वीकार गरेको छ। इजरायली पत्रकारहरूसँगको ब्रिफिङका क्रममा सैन्य अधिकारीहरूले गाजाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको मृतकको संख्या धेरै हदसम्म सही रहेको बताएका हुन्।

सीएनएनका अनुसार यसअघि इजरायलले गाजाको स्वास्थ्य मन्त्रालय हमासद्वारा नियन्त्रित रहेको भन्दै त्यहाँबाट सार्वजनिक हुने तथ्यांकमाथि प्रश्न उठाउँदै आएको थियो। तर पछिल्लो ब्रिफिङमा इजरायली अधिकारीहरूले ती तथ्यांक वास्तविकतासँग नजिक रहेको बताएका हुन्।

सार्वजनिक प्रसारक कान ११ का अनुसार यो विवरण ‘कोअर्डिनेटर अफ गभर्मेन्ट अफेयर्स इन द टेरिटोरिज’ बाट प्राप्त भएको हो। मारिएका व्यक्तिमध्ये कति सर्वसाधारण र कति लडाकु थिए भन्ने विषयमा अहिले पनि विश्लेषण भइरहेको जनाइएको छ।

यसअघि बुधबार गाजाको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले युद्ध सुरु भएयता ७१ हजार ६६७ प्यालेस्टिनी मारिएको र एक लाख ७१ हजार ३४३ जना घाइते भएको तथ्यांक सार्वजनिक गरेको थियो। उक्त संख्यामा अक्टोबरको मध्यतिर सुरु भएको युद्धविरामपछि इजरायली आक्रमणमा मारिएका ४९२ जना पनि समावेश छन्।

स्वास्थ्य मन्त्रालयले मृतकको लडाकु र सर्वसाधारण भनेर छुट्टै वर्गीकरण नगरे पनि मृतकहरूको विस्तृत नामावली नियमित रूपमा सार्वजनिक गर्दै आएको छ।

युद्धको सुरुआती चरणमा इजरायलले हमासले मृतकको संख्या बढाइचढाई गरेको आरोप लगाएको थियो। तर सेप्टेम्बरमा तत्कालीन इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले भनेका थिए, “गाजामा २२ लाख जनसंख्या छ। तीमध्ये १० प्रतिशतभन्दा बढी मारिएका वा घाइते भएका छन्। यो सामान्य युद्ध होइन।” उक्त अभिव्यक्ति त्यतिबेलाको स्वास्थ्य मन्त्रालयको तथ्यांकसँग मेल खान्छ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार