Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रपति पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन्। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान गएका हुन्।

उनलाई जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल जापान गएका हुन्। भ्रमणका क्रममा राष्ट्रपति पौडेल माघ १९ गते सोमबार जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ।

त्यस्तै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट हुने छ। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि भेटवार्ता तय भएको छ। भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम रहेको छ।

जापान भ्रमणकै क्रममा राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने तथा जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

नेपाल र जापानबीच सन् १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्ना दूतावास स्थापना गरेका थिए।

राष्ट्रपति पौडेल चारदिने औपचारिक भ्रमण सम्पन्न गरी यही माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार