NL न्यूज
काठमाडौं । २०८२ सालको प्रतिनिधिसभा चुनावमा मतदाता मात्रै होइन, उम्मेदवारहरू नै भोटको दिन अलमलमा छन् । कारण सरल छ—थुप्रै ‘हेभीवेट’ नेता र चर्चित अनुहारहरू उम्मेदवार बनेको निर्वाचन क्षेत्र र उनीहरूको मतदाता नामावली फरक–फरक ठाउँमा छ। नतिजा ? प्रचारमा दिनरात दौडधुप गर्ने नेताहरू भोट हाल्ने दिन भने आफ्नै क्षेत्रमा भोट हाल्न पाउँदैनन्। चुनावी भाषामा यसलाई अब धेरैले व्यंग्यमा ‘टुरिस्ट उम्मेदवार’ भन्न थालेका छन्।
यो सूची हेर्दा राजनीति स्थानीय प्रतिनिधित्वभन्दा पनि सुरक्षित सिट, दलको गणित र व्यक्तिगत रणनीति चलिरहेको झल्को दिन्छ। “म तपाईंको क्षेत्रको उम्मेदवार” भन्ने नेताले आफ्नै मत भने अर्को जिल्लामा हाल्ने अवस्था बनेको छ । यही विरोधाभासले २०८२ को चुनावलाई थप रोचक मात्रै होइन, अलिक हास्यास्पद पनि बनाइदिएको छ।
प्रधानमन्त्री दाबेदारदेखि चर्चित अनुहारसम्म
एमालेबाट प्रधानमन्त्रीका दाबेदार केपी ओली झापा–५ बाट उम्मेदवार भए पनि मतदाता नामावली भक्तपुर–२ मा छ । अर्थात् झापामा भोट माग्ने ओलीले आफ्नो मत भक्तपुरका लागि छुट्याएका छन् । यस्तै, बालेन शाह झापा–५ का उम्मेदवार भए पनि मतदाता काठमाडौं–२ मा छ । गगन थापा सर्लाही–४ का उम्मेदवार बनेका छन् । उनको पनि मतदाता काठमाडौं–४ मा छ । हरेक चुनावमा निर्वाचन क्षेत्र फेर्ने प्रचण्डको त रेकर्ड नै भइसक्यो । उनी यो पटक रुकुम पूर्वका उम्मेदवार हुन् । तर मतदाता चितवन–३ मा छ ।
‘टुरिस्ट उम्मेदवार’को बढ्दो ट्रेन्ड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार, तर मतदाता काठमाडौं–३ मा छ । उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार छन् तर मतदाता मोरङ–५ का हुन् । नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट उम्मेदवार छन् तर उनी मतदाता गोरखा–२ का हुन् । यी उदाहरणले देखाउँछ—दलले जहाँ सुरक्षित ठान्छ, त्यहीँ उम्मेदवार, मतदाता नामावली जहाँ छ, त्यहीँ मत। क्षेत्र र मतदाताबीचको भावनात्मक सम्बन्ध कागजमै सीमित जस्तो।
कांग्रेस, एमालेदेखि नयाँ दलसम्म एउटै समस्या
कांग्रेसका उम्मेदवार
प्रदीप पौडेल उम्मेदवार काठमाडौं ५ मतदाता नामावली तनहुँ २
शेखर कोइराला उम्मेदवार मोरङ ६ मतदाता नामावली मोरङ ४
मीनेन्द्र रिजाल उम्मेदवार मोरङ २ मतदाता नामावली मोरङ ४
महालक्ष्मी उपाध्याय डिना उम्मेदवार मकवानपुर १ मतदाता नामावली मकवानपुर २
विनोद चौधरी उम्मेदवार नवलपरासी १ मतदाता नामावली नवलपुर १
शंकर भण्डारी उम्मेदवार तनहुँ २ मतदाता नामावली तनहुँ १
अम्मरिसंह पुन उम्मेदवार बाँके ३ मतदाता नामावली रोल्पा
नेकपा एमाले
भानुभक्त ढकाल : उम्मेदवार तेह्रथुम, मतदाता नामावली मोरङ ३
जुली महतो : उम्मेदवार धनुषा ३, मतदाता नामावली धनुषा ४
वासुदेव घिमिरे : उम्मेदवार रुपन्देही ३, मतदाता नामावली रुपन्देही २
प्रमोद यादव : उम्मेदवार रुपन्देही ४, मतदाता नामावली रुपन्देही २
नेकपा
देवेन्द्र पौडेल : उम्मेदवार पूर्वी नवलपरासी २ मतदाता नामावली बागलुङ १
यशोदा सुवेदी : उम्मेदवार मनाङ मतदाता नामावली लमजुङ
प्रेम आले : उम्मेदवार कैलाली ५ मतदाता नामावली डोटी
रास्वपा
स्वर्णिम वाग्ले : उम्मेदवार तनहुँ १ मतदाता नामावली गोरखा १
पुकार बम : उम्मेदवार काठमाडौं ४ मतदाता नामावली काठमडौं १
निशा डाँगी : उम्मेदवार झापा १ मतदाता नामावली झापा ३
सोम शर्मा : उम्मेदवार बागलुङ २ मतदाता नामावली बागलुङ १
खगेन्द्र सुनार : उम्मेदवार बाँके ३ मतदाता नामावली दैलेख
राप्रपा
रवीन्द्र मिश्र : उम्मेदवार काठमाडौं १ मतदाता नामावली ललितपुर
भक्तिप्रसाद सिटौला : उम्मेदवार झापा ४ मतदाता नामावली झापा १
श्रम संस्कृति पार्टी
लालबहादुर घर्ती : उम्मेदवार बागलुङ १ मतदाता नामावली बागलुङ २
आम जनता पार्टी
ऋषि धमला : उम्मेदवार रौतहट ४ मतदाता नामावली धादिङ २
स्वतन्त्र उम्मेदवार
महावीर पुन :उम्मेदवार म्याग्दी मतदाता नामावली चितवन १
सूची हेर्दा बुझिन्छ—यो कुनै एक दलको समस्या होइन, सिंगो प्रणालीको ‘कल्चर’ बनिसकेको छ। २०८२ को चुनावमा यस्तो दृश्य सामान्य बन्दै गएको छ—नेता माइक समातेर भन्छन्, “मेरो लागि भोट दिनुहोस्।” तर भोट हाल्ने दिन भने उनीहरू आफ्नै क्षेत्रमा होइन, अर्कै जिल्लामा मत हालिरहेका हुन्छन्। यो केवल कानुनी प्रावधानको कुरा मात्र होइन, राजनीतिक संस्कृतिको ऐना पनि हो। स्थानीयकरणको नारा, तर व्यवहारमा केन्द्रीयकरण। प्रतिनिधित्वको भाषण, तर व्यवहारमा रणनीति। २०८२ को चुनावले फेरि एकपटक प्रश्न उठाइदिएको छ—नेपाली राजनीति स्थानीय प्रतिनिधित्वतिर जाँदैछ कि अझै पनि ‘जहाँ जितिन्छ, त्यहीँ उम्मेदवारी’को पुरानै खेलमा अल्झिएको छ? मतदाता भन्छन्—“हामीलाई भोट माग्ने नेता, आफ्नै भोट यहाँ हाल्न नपाउने?” शायद यही प्रश्न नै यसपटकको चुनावको सबैभन्दा ठूलो व्यंग्य हो।
०००





प्रतिक्रिया दिनुहोस्