Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सप्तरी १ मा २१ उम्मेदवार, पुराना भर्सेस नयाँमा कसलाई गर्लान् मतदाताले 'प्यार' ?

सप्तरी । जिल्लाकै सर्वाधिक मतदाता रहेको सप्तरी निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक प्रतिस्पर्धा चर्किएको छ । चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सप्तरीमध्ये सबैभन्दा धेरै मतदाता रहेको यस क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस निर्वाचन क्षेत्रमा १ लाख १९ हजार ४३ मतदाता रहेका छन् । ५ वटा स्थानीय तह समेटिएको यस क्षेत्रमा ५ जना महिला सहित २१ जना उम्मेदवार प्रतिनिधिसभा सदस्य बन्ने दौडमा छन्।

मुख्य प्रतिस्पर्धा को-को बीच ?
यसपटक सप्तरी–१ मा मुख्य प्रतिस्पर्धा नयाँ र पुराना राजनीतिक शक्तिबीच केन्द्रित देखिन्छ । निर्वाचन आयोगमा दर्ता भएका नयाँ दलदेखि स्थापित राष्ट्रिय दलसम्मका उम्मेदवार चुनावी मैदानमा छन् ।

मुख्य प्रतिस्पर्धीहरू यस प्रकार छन्—
एमाले- सुमनराज प्याकुरेल
कांग्रेस- रामदेव साह
नेकपा- रवीन्द्र चौधरी
रास्वपा – पुष्पाकुमारी चौधरी
राप्रपा- सत्यजित कुमार झा
जसपा नेपाल- श्यामसुन्दर सरदार
जनमत पार्टी- जयकान्त राउत

यी बाहेक ७ दलका उम्मेदवार र ७ जना स्वतन्त्रले मनोनयन दर्ता गराएका छन् । युवा र पौढबीच नै यहाँ पनि प्रतिष्पर्धा देखिएको छ । पुराना दलले ६० कटेकालाई उम्मेदवार बनाउँदा नयाँले ४० मुनिकालाई प्राथमिकतामा राखेका छन् ।

जसपा नेपालले यसपटक पनि जित कायमै राख्ने दाबी गरेको छ । जसपा नेपालबाट यसपटक श्यामसुन्दर सरदार उम्मेदवार छन् । यसअघि नवलकिशोर साह सुडिले जितेका थिए ।

जनमत पार्टीबाट अध्यक्ष सीके राउतका दाजु  जयकान्त राउत बलियो दाबेदारकारुपमा मैदानमा उत्रिएका छन् । सीके राउतलाई यसपटक आफन्तलाई नै प्राथमिकतामा राखेको आरोप छ । अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेका उनी यसपटक मतदाताले आफूलाई विश्वास गर्ने र जित सुनिश्चित हुने दाबी गर्दै आएका छन् ।

कांग्रेसबाट जिल्ला सभापति रामदेव साह तेस्रो पटक उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा सीमित साह यसपटक आफ्नो पक्षमा माहोल बनेको दाबी गर्दै तेस्रोबाट पहिलो स्थानमा उक्लिने विश्वासमा छन् ।

एमालेबाट सुमनराज प्याकुरेल तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् । अघिल्ला दुई निर्वाचनमा पराजय भोगेका उनले यसपटक जितेर क्षेत्रको विकास गर्ने प्रतिबद्धता जनाउँदै मतदातासँग सहयोगको अपेक्षा गरेका छन्।

देशैभर जस्तै रास्वपाले पनि जित दाबी गरेको छ । यसपटक पुराना अनुहार होइन नयाँले मौका पाउने जनलहर देखिएको उनीहरुको दाबी छ । रास्वपाले ३६ वर्षीया पुष्पाकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ । अरु दलका पनि आ-आफ्नै दाबी छ ।

२०७९ सालमा प्रत्यक्ष तथा समानुपातिकको अवस्था कस्तो थियो त ?
प्रत्यक्षतर्फ

जसपा नेपाल- नवलकिशोर साह सुडी — २३,६०४ मत
जनमत- जयकान्त राउत- १९,९९६ मत
कांग्रेस- रामदेव साह- १४,३१२ मत
स्वतन्त्र- चन्द्रनारायण यादव- २,८८१ मत
स्वतन्त्र- रोहितकुमार पोखरेल - १,४८० मत
रास्वपा- निरंजनप्रसाद कुशवाहा- १९२ मत

समानुपातिकतर्फ
जनमत पार्टी- २२,३२७ मत
एमाले- १२,९०४ मत
जसपा नेपाल- १२,८२७ मत
कांग्रेस- १०,३९९ मत
माओवादी केन्द्र- ३,७७२ मत
नाउपा- १,८३८ मत
रास्वपा- १,५९९ मत

सप्तरी निर्वाचन क्षेत्र नं. १ मा पर्ने स्थानीय पालिका
सप्तरीमा ३ नगरपालिका र दुई गाउँपालिका रहेका छन् ।  
कञ्चनरुप नगरपालिका
सप्तकोशी नगरपालिका
हनुमाननगर कंकालिनी नगरपालिका
अग्निसाइर कृष्णासवरन गाउँपालिका
तिरहुत गाउँपालिका
सर्वाधिक मतदाता, धेरै उम्मेदवार र नयाँ–पुराना शक्तिको भिडन्तले सप्तरी–१ को निर्वाचनलाई रोचक बनाएको छ । मत विभाजन, स्थानीय प्रभाव र पार्टीको लहर—सबै तत्व निर्णायक बन्न सक्ने अवस्थामा छन् । ०००

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार