Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

संखु्वासभामा १६ जना उम्मेदवार, पूर्वराजदूत पनि मैदानमा, के भत्किएला कांग्रेस-एमालेको गढ ?

सङ्खुवासभा  । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले सङ्खुवासभाको राजनीतिक शक्ति सन्तुलन पुनः परीक्षण गर्ने भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा यसपटक एक जना स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाका अनुसार कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न राजनीतिक दलबाट उम्मेदवार मैदानमा उत्रिएका छन् । एक निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसपटक चीर प्रतिद्वन्द्वी कांग्रेसका दीपक खड्का र एमालेका राजेन्द्र गौतम दुबै मैदानमा छैनन् ।

को–को छन् चुनावी मैदानमा ?
सङ्खुवासभामा राष्ट्रिय दलदेखि साना र पहिचान–आधारित दलसम्मका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
एमाले – अर्जुन कार्की
कांग्रेस – दिपनकुमार श्रेष्ठ
नेपाली कम्युनिष्ट पार्टी – सरिता थापा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – मिङ्मा शेर्पा
राप्रपा- पदमबहादुर तामाङ
जनता समाजवादी पार्टी नेपाल – भरत कुमार राई याख्खा
श्रम संस्कृति पार्टी – उमादेवी राई
राष्ट्रिय परिवर्तन पार्टी – घनश्याम राई
यस्तै, नेपाल जनमुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाली जनसंस्कृतिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमोर्चा पार्टीबाट उम्मेदवार रहेका छन् ।

धेरै उम्मेदवार, तर निर्णायक को ?
१६ जना उम्मेदवार मैदानमा हुँदा चुनाव बहुदलीय र खुला देखिए पनि व्यवहारमा भने प्रतिस्पर्धा सीमित केही दलबीच केन्द्रित हुने अनुमान गरिएको छ। अघिल्ला निर्वाचनका नतिजाहरूले पनि साना दल र स्वतन्त्र उम्मेदवार निर्णायक बन्न नसकेको संकेत गर्छन्।

नयाँ अनुहारको परीक्षा
यसपटकको प्रतिनिधिसभा निर्वाचनको अर्को विशेषता भनेको प्रायः सबै दलबाट नयाँ अनुहारका उम्मेदवार मैदानमा देखिनु हो। यसले मतदातामा नयाँ विकल्पप्रतिको चासो बढाउने सम्भावना भए पनि अन्ततः मत पुरानै दलतर्फ केन्द्रित हुन्छ कि हुँदैन भन्ने प्रश्न खुला छ।

मतदाता र मतदान संरचना
कुल मतदाता : १ लाख १९ हजार ६ सय ३०
सक्रिय राजनीतिक दल : २२
मतदान स्थल : १०९
मतदान केन्द्र : १६४

२०७९ सालको आमनिर्वाचन
२०७९ सालमा १,१७,५५४ मतदाता रहेका थिए । यसपटक यो संख्या बढेर २,०७६ जना मतदाता बढेका छन् । २०७९ मा प्रत्यक्ष र समानुपातिकतर्फ कसको कति मत थियो त ?

प्रत्यक्षतर्फ
कांग्रेस- दीपक खड्का- ३२,१६१ (विजयी)
एमाले- राजेन्द्रप्रसाद गौतम- २६,७२१
रास्वपा- भक्तनारायण श्रेष्ठ- १,१३६
अरु उम्मेदवारले एक हजार मत पनि कटाउन सकेका छैनन् ।

समानुपातिकतर्फ
एमाले- २५,१३८ मत
कांग्रेस- २२,०२६ मत
माओवादी- ७,०५२ मत
एकीकृत समाजवादी- २,५४८ मत
रास्वपा- २,४२७ मत

सङ्खुवासभाको निर्वाचन पनि व्यक्तित्व, दलगत आधार र स्थानीय समीकरणको मिश्रणमा निर्भर देखिन्छ। नयाँ अनुहार र धेरै दलको उपस्थितिले चुनाव रोचक बने पनि अन्तिम निर्णय भने मतदाताको राजनीतिक व्यवहारले नै निर्धारण गर्ने सम्भावना हुन्छ । नयाँ वा पुराना दल अब मतदाताकै हातमा छ ।०००
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार