Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

रसुवामा एमालेले कांग्रेसको ‘ह्याट्रिक’ रोक्ने, जनयुद्ध लडेका बने नेकपा उम्मेदवार, रास्वपाले के गर्ला ?

रसुवा । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा यसपटक ३ स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। यद्यपि फागुन २१ मा हुने निर्वाचनमा प्रतिस्पर्धा धेरै उम्मेदवारबीच देखिए पनि मुख्य लडाइँ भने फेरि पनि नेपाली कांग्रेस र नेकपा एमालेबीच नै सीमित हुने संकेत देखिन्छ। कांग्रेसले २०७४ र २०७९ का दुवै प्रतिनिधिसभा निर्वाचन जितेका नेता मोहन आचार्यलाई यसपटक पनि दोहोर्‍याएको छ। लगातार दुईपटक पराजित एमालेले भने बदला लिने दाउसहित प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाएको छ। यसरी रसुवामा चुनाव निरन्तरता र बदलाको द्वन्द्वमा प्रवेश गरेको छ।

उम्मेदवारको पृष्ठभूमि : अनुभव भर्सेस चुनौती
एमाले उम्मेदवार प्रेमबहादुर तामाङ संविधानसभा सदस्यदेखि प्रदेश सांसदसम्मको अनुभव बोकेका नेता हुन्। उनी २०६४ सालदेखि निरन्तर चुनावी राजनीतिमा सक्रिय छन्। २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट विजयी भएका तामाङ २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने पराजित भए।

२०७४ मा माओवादी केन्द्र छाडेर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट रसुवा (२) प्रदेशसभामा उम्मेदवारी दिएर विजयी भए। त्यस निर्वाचनमा उनले ७ हजार ४० मत ल्याउँदा माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामेले ५ हजार ६९२ मत पाएका थिए। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नउठेका तामाङ यसपटक पुनः संघीय सांसद बन्ने दौडमा फर्किएका छन्।

कांग्रेस उम्मेदवार मोहन आचार्य भने रसुवाको राजनीतिमा ‘सिद्ध’ भइसकेका पात्र मानिन्छन्। २०७४ मा एमाले उम्मेदवार जनार्दन ढकाललाई पराजित गर्दै संसद् प्रवेश गरेका आचार्यले २०७९ मा पनि एमालेकै छोवाङ तेन्जिङ तामाङलाई भारी मतान्तरले हराएका थिए।
२०७९ मा आचार्यले १८ हजार २३५ मत पाउँदा एमाले उम्मेदवार तामाङले ८ हजार ६१४ मत मात्रै ल्याएका थिए। तर त्यो जित कांग्रेस एक्लैको नभई माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धनको समर्थनमा सम्भव भएको थियो। यही कारण यसपटक दलहरू एक्लाएक्लै मैदानमा उत्रँदा अघिल्लो अंकगणित दोहोरिन नपर्ने विश्लेषण गरिँदैछ।

नेकपा र रास्वपा : उपस्थिति कि प्रभाव?
यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले माओवादी जनयुद्धमा सक्रिय नेता माधवप्रसाद लामिछानेलाई उम्मेदवार बनाएको छ। २०४६ सालदेखि राजनीतिमा सक्रिय उनी २०५५ भदौदेखि माओवादीका पूर्णकालीन कार्यकर्ता बनेर रसुवाको उपइलाका इन्चार्जसमेत भएका थिए। लामिछाने पहिलोपटक संसदीय निर्वाचनमा होमिएका हुन्। तर विगतका नतिजा हेर्दा रसुवामा तत्कालीन माओवादीको संगठनात्मक प्रभाव बलियो देखिँदैन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसपटक वसन्त भट्टलाई उम्मेदवार बनाएको छ। तर रसुवामा रास्वपाले अहिलेसम्म उल्लेखनीय प्रभाव जमाउन सकेको देखिँदैन। २०७९ मा समानुपातिकतर्फ रास्वपाले १ हजार ७३१ मत पाउँदा प्रत्यक्षतर्फ उम्मेदवार मीननाथ देवकोटाले जम्मा १६५ मत मात्रै ल्याएका थिए।

अंकगणित के भन्छ ?
२०७९ को समानुपातिक मत परिणामले रसुवालाई कांग्रेसको बलियो आधार क्षेत्रका रूपमा देखाउँछ।
कांग्रेस : १२ हजार ५८६ मत
एमाले : ७ हजार ७०८ मत
माओवादी केन्द्र : ३ हजार ६८६ मत
रास्वपा : १ हजार ७३१ मत
स्थानीय तह निर्वाचनमा पनि कांग्रेस र एमालेबीच शक्ति सन्तुलन देखिन्छ। पाँचवटै गाउँपालिकामध्ये प्रमुखमा कांग्रेस ३ र एमाले २ स्थानमा विजयी भएको थियो। उपप्रमुखमा भने एमाले ३ र कांग्रेस २ स्थानमा सीमित रह्यो। यसले एमालेको संगठन कमजोर नभएको संकेत गर्छ।

दोहोरिन्छ इतिहास कि बदलिन्छ समीकरण?
समग्रमा, रसुवाको निर्वाचन कांग्रेसका लागि निरन्तरता जोगाउने परीक्षा हो भने एमालेका लागि विगतका हारको बदला लिने अवसर। गठबन्धनविनाको चुनाव, एमालेका अनुभवी उम्मेदवार र स्थानीय तहमा देखिएको संगठनात्मक बलले यसपटक प्रतिस्पर्धा झनै कडा बनाएको छ। फागुन २१ को मत परिणामले रसुवामा कांग्रेसको वर्चस्व निरन्तर रहन्छ कि एमालेले लामो समयको हारको श्रृंखला तोड्छ—त्यसको फैसला गर्नेछ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार