Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

हितबहादुरको ह्याट्रिक कि महतको पुनरागमन ? नुवाकोट–१ मा कसले काट्छ कसको मत ?

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर–१ यसपटक अघिल्लो जस्तो दलीय गठबन्धन छैन् । अघिल्ला दुई निर्वाचनमा गठबन्धनको सहारामा विजयी हुँदै आएका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङ यो पटक भने एक्लै मैदानमा छन् । कांग्रेस र एमाले पनि आ–आफ्नै शक्तिमा चुनाव लड्दैछन् । यही कारण यो क्षेत्र त्रिपक्षीय मात्र होइन, चौथो कोणबाट रास्वपाले नतिजा उल्ट्याउने सम्भावनायुक्त क्षेत्र बनेको छ । यसपटक यो क्षेत्रमा १८ उम्मेदवार मैदानमा उत्रिएका छन् । २०७९ को मत परिणाम हेर्दा एमाले, कांग्रेस र माओवादीबीच समानुपातिक मत झिनो अन्तरमा छ। यस्तो अवस्थामा रास्वपाको ६ हजारभन्दा बढी मत बैंक कुन दिशामा जान्छ भन्ने प्रश्नले सबै दललाई असहज बनाएको छ।

राजनीतिक पृष्ठभूमि
२०५६ देखि २०७० सालसम्म लगातार नेपाली कांग्रेसले जित्दै आएको यो क्षेत्र २०७४ र २०७९ मा भने गठबन्धनको बलमा तत्कालीन माओवादी केन्द्रले आफ्नो पक्षमा पार्‍यो । तर फागुन २१ को निर्वाचनमा कुनै गठबन्धन छैन—यही कारण नुवाकोट–१ को चुनाव अनिश्चित बनेको छ । ककनी, पञ्चकन्या, लिखु, तादी, शिवपुरी, दुप्चेश्वर र सूर्यगढी गाउँपालिका समेटिएको यो क्षेत्रमा ‘जेन–जी’ आन्दोलनपछि हुन लागेको चुनाव भएकाले पुराना गणितले मात्रै नतिजा अनुमान गर्न सकिने अवस्था छैन।

मुख्य उम्मेदवार र दाउपेच
हितबहादुर तामाङ (नेकपा)

२०६४ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका तामाङ पाँचौँ पटक मैदानमा छन् ।
२०६४ र २०७० मा कांग्रेसका रामशरण महतसँग झिनो मतले पराजित भएका तामाङले २०७४ मा महतलाई हराउँदै संसद् यात्रा सुरु गरे । २०७९ मा कांग्रेस–माओवादी गठबन्धनको बलमा उनले एमालेका बद्री मैनालीलाई हराए। तर यो पटक गठबन्धन छैन । अघिल्ला दुई चुनावमा प्रतिस्पर्धी दलकै साथमा विजयी भएका तामाङका लागि यो चुनाव आफ्नै बलबुताको परीक्षा बनेको छ।

प्रकाशशरण महत (नेपाली कांग्रेस)
लामो समय समानुपातिक र मन्त्रीका रूपमा सक्रिय महत पहिलो पटक आफ्नै जन्मथलोबाट प्रत्यक्ष चुनाव लड्दै छन् । ऊर्जा, अर्थ र परराष्ट्रमन्त्री भइसकेका उनीमाथि ‘जनताको मतबाट अनुमोदित नभई सत्ता पुगेको’ आरोप लाग्ने गरेको छ। यही कारण यो चुनाव उनको राजनीतिक अग्निपरीक्षा मानिएको छ। कांग्रेसले तामाङको ह्याट्रिक रोक्न काठमाडौँबाट महतलाई नुवाकोट फर्काएको छ। महत परिवारको ऐतिहासिक प्रभाव कांग्रेसको बलियो आधार भए पनि प्रत्यक्ष चुनाव नलडेको विगत उनको कमजोर कडी हो।

बद्री मैनाली (नेकपा एमाले)
एमालेले अघिल्लोपटक पराजित उम्मेदवार मैनालीलाई नै दोहोर्‍याएको छ। २०७९ मा तामाङसँग ३ हजार ८३ मतले पराजित भएका उनी यसपटक गठबन्धन नहुँदा परिस्थिति आफ्नो पक्षमा रहेको दाबी गर्छन्। समानुपातिक मतमा एमाले पहिलो दल बनेको तथ्य मैनालीको मुख्य आधार हो।

विक्रम तिमिल्सिना (रास्वपा)
पूर्वपत्रकार तथा राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका तिमिल्सिनालाई रास्वपाले अघि सारेको छ। २०७९ मा रास्वपाले यहाँ ६ हजार १११ मत ल्याएको थियो। अहिले देशभर देखिएको रास्वपा लहरले त्यो मत कति बढ्छ, त्यही नै निर्णायक कारक बन्ने देखिन्छ।

२०७९ को मत अवस्था
प्रतिनिधिसभा (२०७९)

हितबहादुर तामाङ – २६,५४८ मतसिहत विजयी
बद्री मैनाली – २३,४६५
रास्वपा – ६,१११
राप्रपा – १,६११
समानुपातिक
एमाले – १६,२६७ मत सहित पहिलो
कांग्रेस – १५,७५१
माओवादी – १५,१२७
रास्वपा – ५,४४९
नुवाकोट–१ मा यसपटकको चुनाव ‘को जित्छ ?’ भन्दा ‘कसको मत काटिन्छ ?’ भन्ने प्रश्नले बढी अर्थ राख्छ। गठबन्धनबिनाको मैदानमा नेकपा, कांग्रेस र एमालेबीचको प्रतिस्पर्धामा रास्वपाले ल्याउने मतले अन्तिम नतिजा निर्धारण गर्ने लगभग निश्चित छ। पुराना दलका लागि यो चुनाव साखको लडाइँ हो भने रास्वपाका लागि वैकल्पिक राजनीतिको परीक्षण मैदान हो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार