Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

चुनाव मुस्ताङमा तर प्रचार पोखरादेखि काठमाडौंमा, कहाँ गए मतदाता ? कसले मार्ला बाजी ?

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यसपालि कुल ११,३२८ मतदाता छन् । अघिल्लो २०७९ को चुनावमा यहाँ १०,९५७ मतदाता रहेका थिए । यसवर्ष ३७१ मतदाता थपिए । एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङ सधैं थोरै मतान्तर, तीव्र प्रतिस्पर्धा र छिटो नतिजा आउने जिल्लाका रूपमा चिनिँदै आएको छ । यही कारण, देशभरका राजनीतिक दलहरू मुस्ताङबाट खाता खोलेर राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गर्ने रणनीतिमा देखिन्छन् ।

मतदाता जिल्लाबाहिर, प्रचार देशभर
मुस्ताङका करिब ५० प्रतिशतभन्दा बढी मतदाता हाल जिल्लाबाहिर छन् । कठ्याङ्ग्रिने चिसो मौसमका कारण जिल्लाभित्र दलीय चहलपहल कम देखिए पनि, उम्मेदवारहरू काठमाडौं, पोखरा, चितवन, बुटवल लगायत स्थानमा रहेका मुस्ताङी मतदाता खोज्न सक्रिय छन्। चिसो मौसममा मुस्ताङका हुनेखाने ठूला शहर र विदेशतिर हुन्छन् । विपन्नहरुमात्र जिल्लामा भेटिन्छन् ।

मुख्य प्रतिस्पर्धी : कांग्रेस–एमाले, तर नयाँ शक्तिको दबाब
इतिहासतः मुस्ताङमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । तर यसपटक मैदान फराकिलो छ । कांग्रेस–एमालेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), आम जनता पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

मैदानमा उम्मेदवार
मुस्ताङमा ८ उम्मेदवार मैदानमा उत्रिएका छन् ।
कांग्रेस – योगेश गौचन थकाली
एमाले – इन्द्रधारा डादु बिष्ट
नेकपा – ङुटुक गुरुङ
रास्वपा – अधितियचन्द्र थकाली
आम जनता पार्टी – अजय विक
मंगोल नेसनल अर्गनाइजेसन – यमबहादुर गुरुङ
राप्रपा – कमला लालचन
उज्यालो नेपाल – सुरेन्द्र शेरचन

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली, कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् । २०७९ को निर्वाचनदेखि रोमीले छोरालाई मैदानमा उतार्ने गरेका छन् । यसपटक आफू समानुपातिक सूचीमा बसेका छन् ।

२०७९ को परिणाम
प्रत्यक्षतर्फ 
कांग्रेस- योगेश थकाली – ३,९९२ मत
एमाले- प्रेमप्रसाद तुलाचन– ३,०७८ मत
रास्वपा- सुदेश गुरुङ – ८७ मत
समानुपातिकतर्फ
एमाले- ३,४०४ मत
कांग्रेस- २,४८६ मत
माओवादी केन्द्र- ९८९ मत
रास्वपा- २९९ मत

दलहरूको दाबी र रणनीति
कांग्रेस

– संसद् विघटन हुनुअघि सुरु गरिएका विकासका काम पूरा गर्ने एजेन्डा
– निरन्तरता र पारिवारिक–राजनीतिक भरोसा
एमाले
–जिल्लाका पाँच स्थानीय तहमध्ये चारमा जितेकाले आशा
– संगठन बलियो, अघिल्लो हारको बदला लिने रणनीति
– उपल्लो मुस्ताङको मतमा विशेष भरोसा
रास्वपा
– ‘जेनजी’ र वैकल्पिक राजनीतिलाई मुख्य मुद्दा
– पुराना दलकै कारण संसद् विघटन भएको भन्दै नयाँ विकल्पको आह्वान

मतदान संरचना
एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा— ५ गाउँपालिका (थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड, लोमन्थाङ)
३९ मतदानस्थल कायम गरिएको छ।

स्थानीय पालिकामा अवस्था
कांग्रेस- प्रमुख- १/उपप्रमुख- २
एमाले- प्रमुख- ४/उपप्रमुख- ३
यहाँको नतिजा केवल एउटा सिटको फैसला होइन—पुराना दलको पकड कायम रहन्छ कि नयाँ राजनीतिक धारले इतिहास मोड्छ भन्ने संकेत हो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार