NL न्यूज
दार्चुला । दार्चुला एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले जिल्लामा फेरि एकपटक पुराना राजनीतिक शक्ति, सीमा–सार्वभौमिकताको मुद्दा र मतदाता संरचनाको परिवर्तनलाई एकैसाथ परीक्षण गर्नेछ ।
यस निर्वाचनका लागि दार्चुलामा ११ राजनीतिक दलका उम्मेदवारले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै उम्मेदवारको मनोनयन प्रक्रिया पूरा भइसकेको छ, जससँगै जिल्लाको राजनीतिक माहोल थप तातेको छ ।
को–को छन्, मैदानमा ?
प्रतिनिधिसभा सदस्यतर्फ प्रमुख दलदेखि साना तथा वैकल्पिक दलसम्मका उम्मेदवार चुनावी मैदानमा छन्।
दलगत उम्मेदवारहरू
कांग्रेस – धर्मानन्द जोशी
एमाले – गणेशसिंह ठगुन्ना
नेकपा – लक्ष्मण दत्त जोशी
राष्ट्रिय जनमोर्चा – विर्खराज पन्त
नेकपा (संयुक्त) – विद्यादेव जोशी
रास्वपा – राजेश सिंह सामन्त (साउँद)
राप्रपा – राजेश चन्द
नेमकिपा – रमेश कुमार रावल
आजपा – प्रेम सिंह बडाल
नेकपा (माओवादी) – नवराज भट्ट
संवैधानिक लोकतान्त्रिक राष्ट्रिय मञ्च – गगन ठगुन्ना
यसपटक दार्चुलाको राजनीतिमा एउटा ब्रेक लागेको छ । लगातार सांसद तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू चुनावी मैदानमा नउत्रिएर व्रेक लगाएका छन् । यसले कांग्रेसभित्रै शक्ति सन्तुलन र मत ट्रान्सफर कति प्रभावकारी हुन्छ भन्ने चासो पनि छ ।
दार्चुलामा यसपटक कुल ९२,९४८ मतदाता रहेका छन् । २०७९ सालको आम निर्वाचनमा मतदाता संख्या ८९,१५४ थियो । अर्थात्, ३,७९४ मतदाता थपिएका छन् ।
तर दार्चुलाको निर्वाचन केवल संख्याको खेल होइन । कालापानी, लिम्पियाधुरा र लिपुलेक जस्ता भारतले अतिक्रमण गरेका नेपाली भूमि यही जिल्लामा पर्छन् । दार्चुलालाई सधैं राष्ट्रियतासँग जोडिएको चुनाव बनाइदिन्छ ।
व्यास गाउँपालिकाका छाङरु र तिंकर गाउँका मतदाताले सदरमुकाम खलङ्गामै मतदान गर्नुपर्ने भएको छ । गत मङ्सिरमा स्थानीयको मौसमी बसाइँसराइ (कुञ्चा) खलङ्गा सरेपछि मतदान केन्द्र पनि खलङ्गामै कायम गरिएको हो ।
२०७९ को स्थानीय तह निर्वाचनमा भने छाङरु र तिंकरमै मतदान केन्द्र सञ्चालन गरिएको थियो।
यो परिवर्तनले मतदान सहभागिता र मतदाताको व्यवहारमा प्रभाव पार्न सक्ने देखिन्छ।
२०७९ को प्रत्यक्ष निर्वाचन : कांग्रेसको जित, एमालेसँग कडा टक्कर
नेपाली कांग्रेस – दिलेन्द्रप्रसाद बडू : २८,५१५ मत (विजयी)
नेकपा (एमाले) – गणेश सिंह ठगुन्ना : २६,३८१ मत
राप्रपा- नरेन्द्रसिंह धामी : ३८० मत
रास्वपा- रविन्द्रसिंह धामी : १९८ मत
२०७९ को समानुपातिक मत : एमाले बलियो, कांग्रेस पछ्याउँदै
समानुपातिकतर्फ दार्चुलामा एमालेको संगठनात्मक पकड अझ स्पष्ट देखिएको थियो ।
एमाले – २४,८८३ मत
कांग्रेस – २०,६५५ मत
माओवादी केन्द्र– ८,१९० मत
रास्वपा- ८७९ मत
राप्रपा- ५०४
अन्य दलले ५ सय मत पनि कटाउन सकेनन् ।
स्थानीय पालिका
सात गाउँपालिका र दुई स्थानीय पालिका गरी यहाँ ९ पालिका रहेका छन् । तिमध्ये माओवादी केन्द्रले ४ पालिका प्रमुख र एमालेले ५ पालिका प्रमुख जितेको थियो । २०७९ को जस्तै कडा र नजिकको प्रतिष्पर्धा दोहोरिन सक्ने सम्भावना होला वा नयाँको प्रभाव थपिएला देखिन्छ । त्यसैले दार्चुलाको अन्तिम फैसला पनि मतगणना पूरा नहुँदासम्म खुला नै रहनेछ ।





प्रतिक्रिया दिनुहोस्