Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

आज शहीद दिवस, शहीदहरूको सम्मानमा देशभर विभिन्न कार्यक्रम

काठमाडौं ।  देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ।

इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्रिय स्वतन्त्रता र जनअधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम आयोजना गरी शहीद दिवस मनाउने परम्परा रहिआएको छ। साताव्यापी कार्यक्रमको अन्तिम दिन आज काठमाडौंको शहीद उद्यान, लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिँदैछ।

आज बिहान शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्यान्ड, मार्चपास तथा शहीदहरूको तस्वीरसहितको बग्गी रहने प्रभातफेरी शहीद उद्यान लैनचौर पुग्नेछ, जहाँ श्रद्धाञ्जली सभा आयोजना हुनेछ। सभामा प्रधानमन्त्री, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहने कार्यक्रम छ।

सरकारले शहीद दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ। विगतमा केन्द्र सरकारले शहीद दिवसको सार्वजनिक बिदा कटौती गरे पनि २०८० सालमै २०८१ सालदेखि पुनः सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई अधिकारका लागि संघर्ष गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो। त्यसै वर्ष माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइयो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो।

नेपालको पहिलो शहीदका रूपमा लखन थापालाई मानिन्छ। विसं २०१२ सालदेखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको स्मृतिमा शहीद दिवस मनाउन थालिएको हो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार