NL न्यूज
ओखलढुंगा । फागुन २१ को चुनावले ओखलढुंगामा मतदानभन्दा डेढ महिना अघिदेखि नै राजनीतिक उथलपुथल मच्चाइदिएको छ। एउटै चुनावी क्षेत्र रहेको यस जिल्लामा यसपटकको चुनाव दलभन्दा पनि विद्रोह, विलय र असन्तुष्टिको गणितले निर्देशित हुने संकेत देखिएको छ। यसपटक एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा १,२२,७१५ मतदाता रहेका छन् । २०७९ को आमचुनाव १,१७,८९७ मतदाता थिए । यसपटक ४,८१८ नयाँ मतदाता थपिए ।
चुनावी चर्चामा दलगत अवस्था
मुख्यत: कांग्रेस-एमालेकै आलोपालो जितेको यो जिल्लामा यसपटक दुबै दलभित्र समस्या देखिएको छ । त्यसको फाइदा तेस्रो पक्षलाई पुग्ने अनुमान गर्न थालिएको छ । २०७९ को आमनिर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको नेकपा एमालेको जिल्ला कमिटीका अध्यक्षसहित केही नेता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा विलय हुन गए । एमालेभित्रको आन्तरिक विवाद, नेतृत्व असन्तुष्टि र टिकट वितरणको निर्णयले कार्यकर्तालाई दुई धारमा विभाजित गरिदिएको छ। कांग्रेसमा पनि चोटको अवस्था रहेको छ । अघिल्लो निर्वाचनमा गठबन्धनको बलमा विजयी भएका रामहरि खतिवडाको टिकट खोसिएपछि कांग्रेसभित्र असन्तुष्टि सतहमा आएको छ।
यद्यपि कांग्रेस नेतृत्व भने पार्टी एक ढिक्का रहेको दाबी गर्छ। खतिवडाको स्थानमा कांग्रेसले कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ।
तर राजनीति केवल औपचारिक घोषणाले चल्दैन—खतिवडाको टिकट खोसिनु, उनको मौनता र समर्थकहरूको मनोविज्ञानले अन्तिम परिणाममा असर पार्न सक्ने आँकलन व्यापक छ।
१५ उम्मेदवार मैदानमा
ओखलढुंगामा यसपटक दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार मैदानमा छन् ।
मुख्य प्रतिस्पर्धी भने तीन ठूला शक्तिबीच देखिन्छ–
कांग्रेस – कुमार लुइँटेल
एमाले – अस्मिता थापा
नेकपा– अम्बिरबाबु गुरुङ
रास्वपा– विश्वराज पोखरेल
राप्रपा- डिकप्रसाद बास्तोला
नेमकिपा- सविना प्रजापति
उज्यालो नेपाल- किशोरी कार्की
श्रम संस्कृति- उद्धवकुमार राई
यसबाहेक, मंगोल अर्गनाइजेशन, मितेरी पार्टी, राष्ट्रिय जनमोर्चा, जसपा, समावेशी समाजवादी पार्टी र दुई स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।
२०७९ को परिणाम : प्रत्यक्ष कांग्रेस, समानुपातिक एमाले
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा—
रामहरि खतिवडा (कांग्रेस) – ३३,५५६ मत
यज्ञराज सुनुवार (एमाले) – २६,७३८ मत
रास्वपा (शोभा कार्की) – ७१४ मत
समानुपातिकतर्फ नतिजा—
एमाले – २५,२४५ मत
कांग्रेस – २३,९९९ मत
माओवादी – ७,१७२ मत
रास्वपा – २,४१८ मत
एकीकृत समाजवादी – ४३० (अहिले नेकपा)
यसले देखाउँछ—ओखलढुंगामा प्रत्यक्ष र समानुपातिक मतको मनोविज्ञान फरक–फरक दिशामा बग्ने गर्छ।
विगतमा गठबन्धन निर्णायक, तर अस्थायी
२०७४ मा एमाले–माओवादी गठबन्धनले कांग्रेसलाई हरायो
२०७९ मा कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनले एमाले पराजित गर्यो
तर यसपटक ठूला गठबन्धन कमजोर, र विद्रोही धार बलियो देखिन्छ।
यही कारण, अघिल्ला चुनावजस्तो सहज जितको अवस्था कुनै पनि दलका लागि छैन।
स्थानीय पालिकामा दलीय अवस्था :
यहाँ ८ स्थानीय पालिकामध्ये ७ गाउँपालिका र एक नगरपालिका रहेको छ ।
पालिका प्रमुख
कांग्रेस- ४
एमाले- १
माओवादी- १
जसपा नेपाल- १
स्वतन्त्र – १
पालिका उपप्रमुख
कांग्रेस- ४
एमाले- ४
यसपटकको चुनाव दलभन्दा पनि विद्रोह, असन्तुष्टि र व्यक्तिको प्रभावले तय हुने संकेत छ। इतिहासले भन्छ—ओखलढुंगाले कहिल्यै सजिलै अनुमान मान्दैन।





प्रतिक्रिया दिनुहोस्