NL न्यूज
नुवाकोट । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी चुलिएको छ । जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई ‘अर्ली इलेक्सन’तर्फ धकेल्दा नयाँ दल र नयाँ अनुहारको उभार स्पष्ट देखिन थालेको छ। यही कारण पुराना दलहरू समेत यसपटक नयाँ उम्मेदवारसहित मैदानमा उत्रिएका छन्। यसको स्पष्ट उदाहरण बनेको छ— नुवाकोट क्षेत्र नम्बर २। यहाँ यसपटक चुनाव पुराना भर्सेस नयाँ को मात्र होइन, संगठन भर्सेस लहरको परीक्षण बन्ने देखिएको छ।
पूर्वमुख्यमन्त्रीको क्षेत्रमा कडा प्रतिस्पर्धा
संघीय राजधानीसँग जोडिएको नुवाकोट भौगोलिक मात्र होइन, आर्थिक र राजनीतिक दृष्टिले पनि सधैँ महत्त्वपूर्ण जिल्ला रहँदै आएको छ। तीन पूर्वअर्थमन्त्री जन्माएको यो जिल्लाले पछिल्लोपटक बागमती प्रदेशको मुख्यमन्त्रीसमेत पायो। नुवाकोट–२ पूर्वमुख्यमन्त्री तथा कांग्रेस सहमहामन्त्री बहादुरसिंह (लामा) को क्षेत्र हो। यसपटक कांग्रेसले यहाँ जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाएको छ। यसअघि समानुपातिक सांसद बनेका केसी पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन्। २०७९ सालको आमनिर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट अर्जुननरसिंह केसी यही क्षेत्रबाट निर्वाचित भएका थिए। यसपटक भने दाजु समानुपातिकमा बसेर भाइलाई प्रत्यक्ष मैदानमा उतारिएको छ।
नेकपाको दाबी : संगठन र छविको भरोसा
नेपाली कम्युनिस्ट पार्टीले नुवाकोट–२ बाट हीरानाथ खतिवडालाई उम्मेदवार बनाएको छ। २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित खतिवडा स्थानीय राजनीतिमा पुराना तर प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन्। दिवंगत नेता पोष्टबहादुर बोगटीको आधार क्षेत्रसमेत रहेको नुवाकोट–२ लाई नेकपाको राम्रो जनाधार भएको क्षेत्र मानिन्छ। कांग्रेस आन्तरिक विवादमा, एमाले जेन–जी आन्दोलनपछि रक्षात्मक अवस्थामा र रास्वपाले कांग्रेसको भोट काट्ने अवस्था बनेपछि त्यसको प्रत्यक्ष फाइदा नेकपालाई पुग्ने खतिवडाको दाबी छ।
एमाले : संगठन भए पनि बाटो कठिन
एमालेले यसपटक केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ। २०७९ मा बागमती प्रदेशसभा सदस्य निर्वाचित पाण्डे प्रतिनिधिसभातर्फ उक्लिन खोजिरहेका छन्। तर तीन ठूला दल आ–आफ्नै बाटोमा उभिएको र रास्वपाको चुनौती थपिएकाले एमालेका लागि चुनावी यात्रा सजिलो देखिँदैन।
रास्वपा : दोस्रोबाट पहिलो बन्ने कसरत
२०७९ को निर्वाचनमा नुवाकोट–२ बाट रास्वपा दोस्रो भएको थियो। गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसी २८,१०७ मत ल्याएर विजयी हुँदा रास्वपाका सुमनविक्रम पाण्डे ले १६,४७७ मत प्राप्त गरेका थिए। यसपटक रास्वपाले पाण्डेलाई टिकट नदिई अच्युत्तम लामिछानेलाई उम्मेदवार बनाएको छ। यही निर्णयलाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिएको छ। अघिल्लो निर्वाचनमा माहौल बनाएका उम्मेदवार हटाउँदा अपेक्षित मत नआउने जोखिम रहेको रास्वपाकै नेताहरू स्वीकार गर्छन्।
अघिल्ला चुनावको गणित
२०७९ को प्रत्यक्ष मत परिणाम—
कांग्रेस – २८,१०७
रास्वपा – १६,४७७
एमाले – १५,५६१
२०७४ मा भने एमाले–माओवादी गठबन्धनबाट नारायणप्रसाद खतिवडा ३६,८९२ मतसहित विजयी भएका थिए।
समानुपातिक मत : चार शक्ति लगभग बराबर
२०७९ को समानुपातिक मतले नुवाकोट–२ मा चार शक्ति उस्तै देखाउँछ—
कांग्रेस – २०,०८५
एमाले – १५,२४८
नेकपा (माओवादी/एस) – १०,४३४
रास्वपा – १०,८३४
रास्वपाको समानुपातिक मत माओवादीभन्दा बढी हुनु नै यहाँको राजनीतिक संकेत हो।
नुवाकोट–२ मा यसपटक चुनावी नतिजा यी प्रश्नमा अडिएको छ ।
रास्वपाले अघिल्लो लहर जोगाउन सक्छ कि सक्दैन ?
कांग्रेसको आन्तरिक विवाद मतपेटिकामा कति असर गर्छ ?
एमालेको सांगठनिक मत एकीकृत हुन्छ कि फेरि क्रस भोट हुन्छ ?
नेकपाले तेस्रो खेलाडीबाट मुख्य दाबेदारको रूप लिन सक्छ ?
स्पष्ट छ— नुवाकोट–२ यसपटक जितभन्दा बढी, आगामी नेपाली राजनीतिमा ‘नयाँ बनाम पुरानो’ को दिशा तय गर्ने निर्वाचन क्षेत्र बनेको छ।





प्रतिक्रिया दिनुहोस्