Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

नेपाललाई ग्रे लिस्टबाट छिट्टै मुक्त बनाउने चुनौती: अर्थमन्त्री खनाल

काठमाण्डौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारण (AML/CFT) मा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट छिट्टै बाहिर निकाल्न सबै क्षेत्र र निकाय सक्रिय हुनुपर्ने बताएका छन्।

‘सम्पत्ति शुद्धीकरण निवारण: पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित आज आयोजित राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले आवश्यक सुधार कार्यहरु तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले भने, “अन्तर्राष्ट्रिय दबाबका कारण होइन, आफ्नै संस्थालाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउन र अर्थतन्त्र बलियो बनाउन यो प्रक्रिया अघि बढाइएको हो।”

अर्थमन्त्री खनालका अनुसार, सुधार प्रयासले अतिरिक्त आर्थिक दायित्व सिर्जना नगर्ने छन्। विदेशी लगानी नआउनुको मुख्य कारण वित्तीय प्रणालीप्रतिको विश्वास कमजोर हुनु रहेको भन्दै, उनले सुधारमार्फत लगानी वातावरण मजबुत बनाउने आवश्यकता औँल्याए।

एफएटीएफ र एसिया प्यासिफिक ग्रुपले जनवरी २०२७ सम्ममा सुधार गर्नुपर्ने विभिन्न विषयहरू सुझाइसकेको उल्लेख गर्दै उनले पछिल्लो वर्ष केही सुधार भएको तर बाँकी काम आगामी एक वर्षभित्र पूर्ण गर्नुपर्ने बताए। साथै, सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा अनुसन्धान, अभियोजन र कारबाही प्रक्रियालाई प्रभावकारी बनाउनेमा उनले जोड दिए।

खनालले विश्वास दिलाए कि २०२६ को अन्त्यतिर सबै सुधार कार्य पूरा भइसकेको हुनेछ र नेपालले ग्रे लिस्टबाट मुक्त हुने मार्गमा अघि बढ्नेछ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार