Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ओली-बालेन भिडन्तले झापा ५ 'हाईअलर्ट'मा, ६ जिल्ला प्रहरीको विशेष निगरानीमा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले आन्तरिक रूपमा सुरक्षा रणनीति तीव्र बनाएको छ। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसके पनि औपचारिक प्रचारको अनुमति नदिइसकेको अवस्थामा राजनीतिक दल र उम्मेदवारहरू मतदातासम्म पुग्न थालेपछि प्रहरीले सम्भावित जोखिमको मूल्याङ्कन गर्दै थप सुरक्षा टोली परिचालन गरिरहेको छ।

केन्द्रीय प्रहरी संयन्त्रले प्रदेश र जिल्लास्थित प्रहरी नेतृत्वसँग निरन्तर समन्वय गर्दै सुरक्षा चुनौतीको विश्लेषण गरिरहेको एक उच्च स्रोतले जनाएको छ। सुरक्षा योजनाका विवरण सार्वजनिक गर्न नमिल्ने भन्दै स्रोतले प्रहरी “डेली एनालाइसिस, डेली प्लान” मोडमा रहेको बताएको छ।

६ जिल्ला उच्च सुरक्षा चुनौतीमा
प्रारम्भिक सुरक्षा मूल्याङ्कनका आधारमा प्रहरीले देशभरका ६ जिल्लालाई उच्च सुरक्षा चुनौतीयुक्त जिल्लाका रूपमा सूचीबद्ध गरेको छ।
सबैभन्दा संवेदनशील जिल्लाको सूचीमा झापा पहिलो नम्बरमा परेको छ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) बीचको चुनावी प्रतिस्पर्धा हुने झापा–५ लाई लक्षित गर्दै प्रहरीका अतिरिक्त टोली परिचालन गरिएको हो। नियमित प्रहरी जनशक्ति अपुग भएपछि विभिन्न गण र गुल्मबाट टोली झिकाएर जिल्ला प्रहरी कार्यालयको समन्वयमा तैनाथ गरिएको छ।
यद्यपि, ओली र साह दुवै हाल जिल्लाबाहिर रहे पनि प्रहरीले सम्भावित गतिविधिलाई मध्यनजर गर्दै क्षेत्र नम्बर ५ लाई ‘टार्गेट जोन’ का रूपमा राखेको छ।

रुकुम पूर्वदेखि सप्तरीसम्म ‘हाइ प्रोफाइल’ भिडन्त
झापापछि उच्च सुरक्षा चुनौतीका जिल्लामा क्रमशः रुकुम पूर्व, गोरखा, चितवन, सर्लाही र सप्तरी छन्।
रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार भएकाले जिल्ला दोस्रो नम्बरको चुनौतीपूर्ण क्षेत्रमा परेको छ। एमाले र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको प्रतिस्पर्धाले सुरक्षा जोखिम बढाएको प्रहरीको निष्कर्ष छ। बुटवलस्थित प्रहरी तालिम केन्द्रसहित विभिन्न गण र गुल्मबाट थप टोली त्यहाँ पुगिसकेका छन्।

गोरखामा भने फरक किसिमको चुनौती देखिएको छ। विभिन्न फौजदारी अभियोगमा नाम जोडिएका व्यक्ति र जेन–जी आन्दोलनका अगुवा उम्मेदवार रहेका कारण जिल्ला तेस्रो नम्बरको चुनौतीमा परेको हो। क्षेत्र नम्बर १ मा रास्वपाका सुधन गुरुङ, कांग्रेसका प्रेमकुमार खत्री र एमालेका आरसी लामिछानेबीचको प्रतिस्पर्धाले सुरक्षा संवेदनशीलता बढाएको छ।

क्षेत्र नम्बर २ मा ‘चक्रे मिलन’ का नामले परिचित मिलन गुरुङ उम्मेदवार बनेपछि गोरखाको चुनाव थप चर्किएको छ। यही ‘भद्रगोल’ उम्मेदवारीकै कारण पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएको प्रहरी स्रोतको विश्लेषण छ।

चितवन, सर्लाही र सप्तरीमा किन तनाव?
चितवनमा रास्वपा सभापति रवि लामिछाने र नेकपाकी रेनु दाहालबीचको प्रतिस्पर्धालाई सम्भावित सुरक्षा चुनौतीका रूपमा हेरिएको छ।
सर्लाहीमा कांग्रेस सभापति गगन थापा उम्मेदवार छन् भने सप्तरीमा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत चुनावी मैदानमा छन्। यी सबै ‘हाइ प्रोफाइल’ उम्मेदवार भएकाले प्रहरीको निगरानी कडा बनाइएको छ।

२२ सीमावर्ती जिल्ला उच्च जोखिममा
प्रहरीले भारतसँग खुला सीमा रहेका २२ जिल्लालाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकरण गरेको छ। ती जिल्लामा सशस्त्र प्रहरी बलसँग संयुक्त रूपमा सीमा सुरक्षा कडा बनाइनेछ। झापा, मोरङ, सप्तरी, सर्लाहीदेखि कैलाली, कञ्चनपुर र दार्चुलासम्मका जिल्लामा विशेष सतर्कता अपनाइँदैछ।

दोलखा–स्याङ्जामा पुरानै ‘घाउ’ को चिन्ता
अघिल्ला निर्वाचनमा बुथ कब्जा र झडपका घटना भएका दोलखा र स्याङ्जा जिल्लामा पनि यसपटक विशेष सतर्कता अपनाउन स्थानीय प्रहरी नेतृत्वलाई निर्देशन दिइएको छ।

डिजिटल निगरानीका लागि कमाण्ड पोष्ट
निर्वाचनमा डिजिटल प्लेटफर्मबाट हुने जोखिमलाई ध्यानमा राख्दै निर्वाचन आयोग परिसरमै एक कमाण्ड पोष्ट स्थापना गरिएको छ। १८ लाखभन्दा बढी मतदाताको अधिकार सुरक्षित गर्न ई–मनिटरिङ गरिनेछ। त्यसको नेतृत्वका लागि नेपाल प्रहरीले सूचना प्रविधि निर्देशनालयबाट डीएसपी मनोज शाहलाई खटाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार