NL न्यूज
रुकुम पूर्व । नेकपा एमाले र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्यको सहमति भएसँगै रुकुम पूर्वको राजनीति अचानक तरंगित भएको छ। जनयुद्धको केन्द्रीय आधार क्षेत्र मानिने यस जिल्लामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक गम्भीर चुनौतीको सामना गरिरहेका छन्। सहज जितको खोजीमा जनयुद्धकै आधार क्षेत्रमा पुगेका प्रचण्डलाई रोक्न एमालेले जनार्दन शर्मासँग हातेमालो गरेपछि यहाँको चुनाव साधारण प्रतिस्पर्धा मात्र रहेन—यो जनयुद्धको विरासत, सत्ता आकांक्षा र भावनात्मक राजनीतिबीचको भिडन्त बनेको छ।
एमाले–प्रलोपा सहकार्य : प्रचण्डविरुद्ध मोर्चाबन्दी
एमाले र प्रलोपाबीच प्रचण्डविरुद्ध चुनावी गठबन्धन गर्ने सहमतिमा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्। तर पूर्वी रुकुमको एमालेले भने यसलाई इन्कार गरेको छ । सहकार्यअनुसार जनार्दन शर्माले जनयुद्धका सहिद दम्पती सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘बृक्षा’का छोरा सन्दीप पुनलाई उम्मेदवार अघि सारेका छन्। सहिदका सन्तानलाई मैदानमा उतार्नु केवल चुनावी रणनीति मात्र होइन, यो प्रचण्डको नैतिक र भावनात्मक आधारमाथिको प्रत्यक्ष चुनौती हो।
सन्दीप पुन : भावनात्मक शक्ति बोकेको युवा उम्मेदवार
विद्यार्थी आन्दोलनबाट उदाएका पुन पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष भइसकेका युवा नेता हुन्। उनी सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्षका रूपमा सहिद परिवार र पीडित समुदायको अधिकारका लागि सक्रिय रहँदै आएका छन्। अहिले उनी प्रलोपाका केन्द्रीय सदस्यसमेत हुन्। एमालेबाट उम्मेदवारी दिएकी लीलामणि गौतमले पुनलाई सघाइरहेकी छन्। एमाले खुलेर प्रचण्डविरुद्ध उभिँदा चुनावी समीकरण थप रोचक बनेको छ।
को–को छन् मैदानमा ?
रुकुम पूर्वमा यसपटक ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्, प्रमुख रूपमा–
१. पुष्पकमल दाहाल ‘प्रचण्ड’ – नेपाली कम्युनिस्ट पार्टी
२. सन्दीप पुन – प्रगतिशील लोकतान्त्रिक पार्टी
३. कुसुमदेवी थापा – नेपाली कांग्रेस
४. लीलामणि गौतम – नेकपा एमाले
५. लखनकुमार थापा – राष्ट्रिय स्वतन्त्र पार्टी
६. रोषण शाह – राष्ट्रिय प्रजातन्त्र पार्टी
२०७९ को नतिजा : माओवादी बलियो, गठबन्धन निर्णायक
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट–
१. पूर्णबहादुर घर्तीमगर (तत्कालीन माओवादी) – १२,२६२ मत (विजयी)
२. कैलाशकुमार मल्ल (एमाले) – ५,२११
३. चन्द्रराज झाक्री (स्वतन्त्र) – ८९६
४. खिमबहादुर खत्री (राप्रपा) – ५८६
त्यस बेला कांग्रेस–माओवादी गठबन्धन निर्णायक बनेको थियो।
समानुपातिक मत : आधार बलियो
२०७९ को समानुपातिक मत परिणाम–
१. तत्कालीन माओवादी – ८,२७१ मत
२. नेपाली कांग्रेस – ५,६९२
३. एमाले – ३,६५९
४. रास्वपा – ४६६
५. राप्रपा – ४२८
६. एकीकृत समाजवादी – ३७५
समानुपातिक मतमा माओवादी अग्रस्थानमा देखिए पनि जनार्दन शर्माले पार्टी छाडेको असर रुकुम पूर्वमा पनि पर्नसक्ने आकलन छ।
स्थानीय तहको चित्र : माओवादीको एकाधिकार
रुकुम पूर्वका तीनै गाउँपालिका—पुथा उत्तरगंगा, भूमे र सिस्नेमा २०७९ को स्थानीय तह निर्वाचनमा–
पालिका प्रमुख : माओवादी – ३
उपप्रमुख : माओवादी – २
यसले क्षेत्र माओवादीको बलियो आधार भएको संकेत गर्छ, तर यसपटकको चुनाव भावनात्मक मोडमा प्रवेश गरिसकेको छ।
प्रचण्डको यात्रा : आधार क्षेत्रदेखि आधार क्षेत्रसम्म
प्रचण्डले अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा दोहोर्याएर चुनाव लडेका छैनन्।
०६४ मा काठमाडौं–१० र रोल्पा–२,
०७० मा काठमाडौं–१० र सिराहा–३,
०७४ मा चितवन–३,
०७९ मा गोरखा–२
र अहिले रुकुम पूर्व।
उनले रुकुमलाई आफ्नो सम्भावित अन्तिम प्रत्यक्ष निर्वाचन क्षेत्रसमेत भनेका छन्।
३४ हजार ७ सय ७२ मतदाताले तय गर्ने यो चुनाव संगठन बनाम भावना, सत्ता बनाम विरासत र नेतृत्व बनाम सन्ततिको टकराव बनेको छ। इतिहास प्रचण्डसँग छ, तर यसपटक इतिहासकै सन्तान उनको सामु उभिएको छ। रुकुम पूर्वमा अब प्रश्न एउटै छ— मतदाताले विरासत रोज्छन् कि सत्ता?





प्रतिक्रिया दिनुहोस्