Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एन्फाको ‘अर्ली इलेक्सन’ विरुद्ध दुई पदाधिकारीसहित चार सदस्य खुला विरोधमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको ‘अर्ली इलेक्सन’ को निर्णयविरुद्ध संघकै दुई पदाधिकारीसहित कार्यसमितिका चार जना खुलेर विरोधमा उत्रिएका छन्।

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा कार्यसमिति सदस्यहरू रबिन्द्र चन्द ठकुरी र रुपेश अधिकारीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया अवैधानिक रहेको दाबी गरेका हुन्।

उनीहरूले अध्यक्ष र महासचिवले कार्यसमितिलाई झुक्याएर निर्वाचनसम्बन्धीनिर्णय गराएको आरोप लगाएका छन्। विज्ञप्तिमा कार्यसमितिबाट उक्त निर्णय तत्काल सच्याउन माग गरिएको छ।

चारै जनाले यस विषयमा विश्व फुटबलको सर्वोच्च निकाय फिफामा पनि पत्राचार गरिएको जानकारी दिएका छन्। फिफाको कोड अफ इथिक्स को दफा २६ अनुसार अधिकारको दुरुपयोग भएको भन्दै कारबाहीको मागसमेत गरिएको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा निर्वाचन आयोग, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अदालतका निर्देशनलाई बेवास्ता गर्दै निर्वाचन प्रक्रिया अघि बढाइएको आरोप पनि लगाइएको छ।

‘एन्फाको वर्तमान कार्यसमितिको कार्यकाल अझै बाँकी छ। यस्तो अवस्थामा साधारणसभा र निर्वाचन प्रक्रिया घोषणा गर्नु विधान र प्रचलित कानुनविपरीत हो,’ विज्ञप्तिमा उल्लेख छ। ‘उच्च अदालतका आदेश पालना नगरी गरिएको कुनै पनि निर्वाचन प्रक्रिया वैधानिक हुन सक्दैन।’
खड्का र शाहीले कार्यसमितिको बैठकबाट पारित भनिएको निर्वाचनसम्बन्धी निर्णय सबै सदस्यको सहमतिमा नभएको र आवश्यक प्रक्रिया पूरा नगरिएको स्पष्ट पारेका छन्।

निर्वाचन समिति गठनदेखि साधारणसभा आह्वानसम्मका निर्णयमा गम्भीर त्रुटि रहेको उनीहरूको दाबी छ।
विधान, अदालत तथा सम्बन्धित निकायको निर्देशनअनुसार मात्रै साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने उनीहरूको माग छ। अन्यथा यसले एन्फा र नेपाली फुटबललाई गम्भीर संकटतर्फ लैजाने चेतावनीसमेत दिइएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार