Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

निर्वाचन नजिकिएकाले घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलका नेताहरूबाट भइरहेको घृणाजन्य अभिव्यक्ति तत्काल बन्द गर्न आग्रह गरेको छ। आयोगले यस्ता अभिव्यक्तिले शान्ति सुरक्षा र निर्वाचनको वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट एकअर्कामाथि आक्षेप, अमर्यादित आरोप–प्रत्यारोप र घृणाजन्य अभिव्यक्तिहरू बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

आयोगका अनुसार यस्ता अभिव्यक्तिले अराजकता निम्त्याउने, सामाजिक सद्भाव बिगार्ने र निर्वाचनको समयमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पार्न सक्ने जोखिम छ। विज्ञप्तिमा सरकारलाई शान्ति सुरक्षाको अवस्था थप मजबुत बनाउन आवश्यक कदम चाल्न पनि आग्रह गरिएको छ।
संविधान तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूले अभिव्यक्ति र विचारको स्वतन्त्रताको प्रत्याभूति गरे पनि अरूको मर्यादामा चोट पुर्‍याउने र शान्ति सुरक्षामा आँच पुर्‍याउने गतिविधि स्वतन्त्रताको नाममा स्वीकार्य नहुने आयोगको स्पष्ट भनाइ छ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई संयमित, जिम्मेवार र मर्यादित भाषा प्रयोग गर्न आग्रह गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्न स्मरण गराएको छ।
aayog-4-1769504636.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार