Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

हर्कदेखि बालेनसम्म ५ उम्मेदवारलाई किन सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण ?

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा पाँच जना उम्मेदवार र दुई सङ्घ–संस्थालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोगको आचारसंहिता अनुगमन शाखाका अनुसार विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवार तथा संस्थामाथि सामाजिक सञ्जाल प्रयोग, अपमानजनक अभिव्यक्ति र प्रचार गतिविधिमा आचारसंहिता मिचिएको प्रारम्भिक निष्कर्ष निकालिएको हो।

आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहलाई पनि स्पष्टीकरण सोधिएको छ। उनले सोही क्षेत्रका अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा प्रतिक्रिया दिँदै ‘हत्यारा’ भन्ने शब्द प्रयोग गरेको आरोप लागेको छ।

त्यस्तै, रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार निकोलस भुसाललाई ‘जेन–जी आन्दोलनको आइकोनिक जुत्ता’ लाई चुनाव चिन्हका रूपमा प्रचार गरेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।

यसैगरी, श्रम संस्कृति पार्टीबाट सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङलाई चुनावी प्रचारमा बालबालिकाको प्रयोग गरेको र उनीहरूलाई टिसर्ट लगाएर प्रचारमा सहभागी गराएको भन्दै आचारसंहिता उल्लङ्घनको आरोप लगाइएको छ।

भक्तपुर क्षेत्र नम्बर २ का एमाले उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भन्ने शब्द प्रयोग गरी अपमानजनक टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ। सोही क्षेत्रकी उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई पनि ‘हत्यारा’ र ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गर्दै घृणाजन्य अभिव्यक्ति दिएको आरोपमा आयोगले स्पष्टीकरण मागेको छ।

उम्मेदवारहरूका अतिरिक्त, अनुमति नलिई आचारसंहिता लागू भइसकेपछि अधिवेशन आयोजना गरेको विषयमा स्वास्थ्य स्वयंसेवक सङ्घलाई पनि स्पष्टीकरण सोधिएको छ। त्यस्तै, शिक्षक सरुवासम्बन्धी निर्णय आचारसंहिताविपरीत भएको आरोपमा अर्को एक संस्थालाई पनि आयोगले स्पष्टिकरण मागेको जनाएको छ।
निर्वाचन आयोगले तोकिएको समयभित्र जवाफ नआए कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार