Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सगरमाथामुनि सत्ताको लडाइँ : पुराना दिग्गज गायब, १२ उम्मेदवारको भिडन्तले सोलुखुम्बु ‘स्विङ डिस्ट्रिक्ट’ बन्दै

सोलुखुम्बु । प्रतिनिधिसभा निर्वाचनका लागि सगरमाथाको जिल्ला सोलुखुम्बुमा राजनीतिक सरगर्मी बढेको छ। एउटामात्र चुनावी क्षेत्र रहेको सोलुखुम्बुमा विभिन्न दलबाट १२ जनाको उम्मेदवारी दर्ता गराएसँगै बहुपक्षीय प्रतिस्पर्धातर्फ उन्मुख भएको छ । उम्मेदवारहरूको सूची हेर्दा यसपटक सोलुखुम्बुको चुनाव पनि नयाँ–पुराना अनुहारको मिश्रणसहित रोचक हुने देखिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोलुखुम्बुमा १२ फरक–फरक दलबाट उम्मेदवारी परेको हो।

को-को छन् उम्मेदवार ?
‍१. कांग्रेस- प्रकाशसिंह कार्की
२. एमाले- कल्पना राई
३. नेकपा- असीम राई
४. रास्वपा- ऋषिधन राई
५. राप्रपा- राजेन्द्र बस्नेत
६. उज्यालो नेपाल- पेम्बाछिरि शेर्पा
७. मंगोल नेशनल अर्गनाइजेसन- मनकुमार गुरुङ
८. श्रम संस्कृति- बीएस राई
९. जसपा नेपाल- ल्हाक्पा शेर्पा

यी बाहेक आम जनता पार्टीबाट गुणराज भट्टराई, नेमकिपाका कमलबहादुर मगर र मितेरी पार्टीले श्रीध्वज तामाङलाई मैदानमा उतारेको छ । यसपटक पुराना अनुहार छैनन् । कांग्रेसका बलबहादुर केसी, एमालेका मानवीर राई रेस बाहिर छन् । सोलुखुम्बुमा ६० वर्ष कटेका दुई उम्मेदवार छन् भने १० उम्मेदवार ५० वर्षमूनिका छन् ।

बहुदलीय प्रतिस्पर्धा, मतदाताको चासो बढ्दो
एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा १२ दलका उम्मेदवार मैदानमा उत्रिँदा चुनाव बहुकोणीय हुने निश्चित देखिन्छ। पुराना दलसँगै नयाँ तथा साना दलको उल्लेख्य उपस्थिति रहेकाले मत विभाजनको सम्भावना पनि उत्तिकै छ। यसपटकको निर्वाचनलाई दलहरूले मात्र होइन, आम मतदाताले पनि चासोका साथ हेरिरहेका छन्।

मुख्य प्रतिस्पर्धा कस–कसबीच ?
‍यसपटक पनि सोलुखुम्बुमा कांग्रेस, एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ। तर, पछिल्लो समय राष्ट्रिय राजनीतिमा प्रभाव बढाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी र पहिचान तथा श्रम संस्कृतिको मुद्दा उठाउँदै आएका दललाई कमजोर आँक्न नसकिने अवस्था छ।

दलका आ–आफ्नै दाबी
कांग्रेसले आफ्नो परम्परागत जनाधार र संगठनलाई जितको मुख्य आधार मानेको छ। एमालेले स्थानीय स्तरमा संगठन मजबुत रहेको र उम्मेदवारप्रति जनविश्वास रहेको दाबी गरेको छ। नेकपाले विभिन्न कम्युनिस्ट धार एकीकृत भएकाले मत तान्न सक्ने विश्वास लिएको छ।
उता, रास्वपाले पुराना दलप्रति बढ्दो असन्तुष्टि आफ्नो पक्षमा आउने दाबी गरेको छ भने श्रम संस्कृति पार्टीले जनजाति मत र पहिचानको मुद्दाले आफूलाई फाइदा पुग्ने बताएको छ। यसपटक ४ हजार १३ मतदाता थपिएका छन् । २०७९ सालमा ८१ हजार ५०२ मतदाता रहँदा यसपटक ८५ हजार ५१५ मतदाता पुगेका छन् ।

२०७९ को आमचुनावको परिणाम
१. एमाले- मानवीर राई- १९,३२४ मत
२. कांग्रेस- बलबहादुर केसी- १६,५४५ मत
३. जसपा नेपाल- लाक्पा शेर्पा- ९०१ मत
४. अन्य दलले ५ सय मत पनि कटाएका थिएनन् ।
५. समानुपातिकतर्फ मत
६. एमाले- १५, ७०५ मत
७. कांग्रेस- १०,४४७ मत
८. माओवादी केन्द्र- ८, ५२४ मत
९. रास्वपा- १,१३५ मत

अन्य दलले एक हजार पनि कटाउन सकेनन् ।

स्थानीय पालिका
सोलुखुम्बु जिल्लामा ७ गाउँपालिका र एक नगरपालिका रहेका छन् ।
२०७९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसले एक नगरपालिकासहित ५ स्थानीय पालिकामा प्रमुख र उपप्रमुख जितेको छ । २३ वटा वडा कांग्रेसकै भागमा छ । त्यस्तै एमालेले २ पालिका प्रमुख र १८ वटा वडामा अध्यक्ष जित्दा माओवादी केन्द्रले १ प्रमुख र २ उपप्रमुखसहित ९ वटा वडा जितेको छ । अन्य दलको उपस्थिति देखिदैन । बहुदलीय उम्मेदवारी, नयाँ राजनीतिक दाबी र मतदाताको बढ्दो चासोका कारण यसपटकको सोलुखुम्बु निर्वाचन निकै रोचक बन्ने देखिएको छ। कसको दाबी कति बलियो ठहरिन्छ भन्ने निर्णय भने फागुन २१ को मतदानपछि मात्रै हुनेछ।
०००
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार