Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ग्राउण्ड जिरो इलाम क्षेत्र नम्बर १ : उम्मेदवार अनेक, के लगाउलान् मतदाताले आफ्नो विवेक ?

इलाम । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को चुनावी माहोल यसपटक असाधारण रूपमा रोचक बनेको छ। एकातिर स्थानीय तह र संसदीय राजनीतिमा लामो अनुभव बोकेका पुराना अनुहारहरू छन् भने अर्कोतिर युवा, बौद्धिक र सुशासनको एजेन्डासहित उदाएको नयाँ पुस्ताको लहर देखिएको छ। यही कारण इलाम–१ को चुनाव केवल जित–हारको प्रतिस्पर्धा नभई राजनीतिक पुस्तान्तरणको बहसमा परिणत भएको छ।

कांग्रेसबाट युवा नेता निष्कल राई
यो चुनावलाई थप चर्चामा ल्याएका छन् नेपाली कांग्रेसका युवा नेता निष्कल राई। कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका राईलाई बौद्धिक, तार्किक र सुशासनका पक्षधर नेताका रूपमा हेरिन्छ। उनले परम्परागत मत बैंकभन्दा बाहिर गएर नयाँ पुस्ता, शिक्षित र तटस्थ मतदातालाई आकर्षित गर्ने एजेन्डा अघि सारेका छन्। सार्वजनिक बहस र अन्तरक्रियामा उनको सक्रिय उपस्थितिले कांग्रेस समर्थक मात्र होइन, तटस्थ मतदाताहरूमा पनि चासो र कौतुहलता बढाएको छ।

नेकपाबाट रणबहादुर राई : स्थानीय अनुभवको दाबी
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रणबहादुर राई इलाम–१ का अर्को महत्वपूर्ण पात्र हुन्। सूर्योदय नगरपालिकाको दुई पटक मेयर भइसकेका राईले स्थानीय सरकार सञ्चालनको अनुभव, विकास निर्माणमा भूमिका र आफ्ना राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्बन्ध प्रयोग गरेर क्षेत्रको विकास गर्ने योजना अघि सारेका छन्। राई, यसअघि यही क्षेत्रबाट पराजित भएका तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका विश्वासपात्र मानिन्छन्। २०७९ को आमनिर्वाचनमा कांग्रेस र तत्कालीन एकीकृत समाजवादीबीचको गठबन्धन हुँदाहुँदै पनि एमालेका महेश बस्नेत विजयी भएका थिए।

एमालेबाट काजीमान कागते : संगठन र वैचारिक स्पष्टता
नेकपा एमालेले यसपटक काजीमान कागतेलाई उम्मेदवार बनाएको छ। कागते एमालेका पुराना, इमानदार र संगठनमा जरा गाडेका नेताका रूपमा परिचित छन्। उनी यसअघि प्रदेशसभा सदस्यका रूपमा समेत काम गरिसकेका छन्।
एमालेको बलियो संगठन, वैचारिक स्पष्टता र स्थानीय तहमा रहेको प्रभावका आधारमा कागतेले आफ्नो उपस्थिति मजबुत बनाउने प्रयास गरिरहेका छन्।  

अन्य दल र त्रिकोणात्मक भिडन्त
इलाम–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्वाला नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल गदाल, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसनसहित कुल १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
अनुभव, संगठन र युवा जोसबीचको यो त्रिकोणात्मक भिडन्तले इलाम–१ को नतिजा कसको पक्षमा जान्छ भन्ने आकलन गर्न कठिन बनाएको छ।

२०७९ को आमनिर्वाचन : एमालेको जित, झिनो अन्तर
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट–
१. महेश बस्नेत (एमाले) – २५,७५३ मत (विजयी)
२. झलनाथ खनाल (तत्कालीन एकीकृत समाजवादी) – २३,०८९ मत
३. बुद्धलाल मेचे (मंगोल नेशनल अर्गनाइजेसन) – २,४४२ मत
४. तोयानाथ शर्मा सापकोटा (राप्रपा) – १,५९९ मत
५. कमलकुमार राई (जसपा नेपाल) – १,३१३ मत
६. विक्रम पाण्डे (स्वतन्त्र) – १,१८४ मत

उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ११ जना उम्मेदवार, जसमा ३ जना स्वतन्त्र थिए।

समानुपातिक मत : एमाले अग्रस्थानमा
२०७९ को समानुपातिक मत परिणामले इलाम–१ को दलगत शक्ति सन्तुलन यसरी देखायो–
१. एमाले – २०,५६४ मत
२. नेपाली कांग्रेस – १६,४५० मत
३. एकीकृत समाजवादी – ८,०२१ मत
४. रास्वपा – ४,४५१ मत
५. मंगोल नेशनल अर्गनाइजेसन – २,११५ मत
६. माओवादी – १,६४९ मत
७. राप्रपा – १,३०० मत
८. जसपा नेपाल – १,१८२ मत

स्थानीय तहको सन्देश : एमाले बलियो, कांग्रेस पछ्याउँदै
इलाम जिल्लामा १० पालिका छन्। इलाम–१ भित्र सन्दकपुर, माइजोग्माई, रोङ, सूर्योदय नगरपालिका, इलाम नगरपालिकाका केही वडाहरू र माई नगरपालिकाका वडाहरू पर्छन्।
स्थानीय तह निर्वाचनमा–
१. एमालेले ५ प्रमुख
२. कांग्रेसले ४ प्रमुख
३. तत्कालीन एकीकृत समाजवादीले १ प्रमुख जित्यो
४. उपप्रमुखतर्फ पनि एमाले अग्रस्थानमा रह्यो।

यसपटक के फरक छ ?
यसपटक इलाम–१ लाई फरक बनाउने मुख्य कारणहरू–
१. कांग्रेसबाट युवा र बौद्धिक उम्मेदवारको उदय
२. एमालेको स्थायी संगठनात्मक बल
३. स्थानीय अनुभव बोकेका कम्युनिस्ट उम्मेदवार
४. रास्वपाले गर्माएको चुनावी माहोल, विशेषगरी युवा र असन्तुष्ट मतदातामाझ

इलाम–१ मा निर्णय कसको ?
इलाम–१ मा यसपटकको चुनाव अनुभव भर्सेसउत्साह, संगठन भर्सेस विचार र पुराना संरचना भर्सेस नयाँ अपेक्षाको प्रतिस्पर्धा बनेको छ। इतिहासले बाटो देखाउँछ, तर मतदाताले दिशा तय गर्छन्। अन्तिम फैसला अब मतपेटिकाभित्र बन्द हुँदैछ। इलाम–१ मा यो चुनाव केवल प्रतिनिधि छान्ने होइन, राजनीतिक संकेत दिने जनमत बन्ने सम्भावना बोकेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार