Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अछाम-१ मा भीम रावल 'तारा'मा भोट माग्दै, ‘सूर्य’ बोकेर पूर्वमाओवादी साउद मैदानमा

२६ वर्षदेखि भोको कांग्रेसले जित्ला त ?

अछाम । नेकपा एमालेसँगको ५१ वर्ष लामो राजनीतिक यात्रा टुंग्याएर  भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेपछि अछाम–१ को चुनावी माहोल असाधारण रूपमा तातेको छ। अछाममा एमालेको जग बसाएका रावल अहिले एमालेविरुद्ध नै मैदानमा छन् । रावलका कारण यो निर्वाचन व्यक्ति, विरासत र दलगत रणनीतिको त्रिकोणीय संघर्ष बनेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ मा रावलसहित आठ जना उम्मेदवार चुनावी मैदानमा छन्।

को–को छन् मैदानमा ?
अछाम–१ का उम्मेदवारहरू यसप्रकार छन्–
१. भीम रावल – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
२. भरतकुमार स्वाँर – नेपाली कांग्रेस
३. दीपकबहादुर साउद – नेकपा (एमाले)
४. ओमप्रकाश रावल – राष्ट्रिय स्वतन्त्र पार्टी
५. सुरेन्द्र शाही – नेपाल मजदुर किसान पार्टी
६. लोकेन्द्र शाह – राष्ट्रिय प्रजातन्त्र पार्टी
७. लोकेन्द्रबहादुर शाही – नेकपा माओवादी (विप्लव)
८. भीमबहादुर कुँवर – स्वतन्त्र

अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका थिए । उनले १९ हजार ५ सय ३४ मत ल्याएका थिए । यो पटक नेकपाले भीम रावललाई उठाएको छ ।

२०७९ को प्रत्यक्षतर्फको नतिजा :
१. शेरबहादुर कुँवर (तत्कालीन एकीकृत समाजवादी) – १९,५३४ मत
२. झपटबहादुर बोहरा (एमाले) – १५,०४५ मत
३. राजन कुँवर (स्वतन्त्र) -  ४३९२ मत

भीम रावल : विद्यार्थी राजनीतिदेखि ‘विद्रोही उम्मेदवार’सम्म
२०१२ साल मंसिर २१ मा अछाममा जन्मिएका रावल विद्यार्थी राजनीतिदेखि वाम आन्दोलनमा होमिएका नेता हुन्। ०३२ सालदेखि एमाले राजनीतिमा सक्रिय रावलले १३ महिना जेल जीवन बिताएका छन्।
उनको राजनीतिक यात्रामा—
२०५१ मा अछाम–१ बाट प्रतिनिधिसभा सदस्य
२०५२ मा पर्यटन राज्यमन्त्री
२०५५ मा पर्यटनमन्त्री
२०६६ मा गृहमन्त्री
२०७२ मा रक्षासहित उपप्रधानमन्त्री
२०७४ मा अछाम–१ बाट पुनः निर्वाचित
जस्ता उच्च जिम्मेवारीहरू समेटिएका छन्। तर २०७९ को निर्वाचनमा टिकटबाट वञ्चित गरिनु र २०७८ को एमाले महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमै प्रतिस्पर्धा गरेपछि रावल पार्टीभित्र क्रमशः अलगथलग परे। २०८१ साल पुसमा संगठित सदस्यसमेत नरहने गरी कारबाही भएपछि उनले ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ सुरु गरे, जुन पछि २०८२ कात्तिकमा नेकपामा समाहित भयो। कानुनमा स्नातक, राजनीतिशास्त्रमा पीएचडी, कवितासंग्रहसहित तीन पुस्तकका लेखक रावलको राजनीतिक उचाइ अछाम–१ का अन्य उम्मेदवारभन्दा फरक देखिन्छ।

संगठन भर्सेस विरासत : कमजोर कडी कहाँ ?
यद्यपि रावलसँग राजनीतिक विरासत बलियो छ, तर संगठनात्मक हिसाबले कांग्रेस र एमाले यसपटक भारी देखिन्छन् । कुल १० पालिका रहेको अछाममा निर्वाचन क्षेत्र १ मा साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिका समावेश छ। २०७९ को स्थानीय तह निर्वाचनमा अछाम–१ का पालिकामा—
१. कांग्रेसले ४ पालिका प्रमुख
२. तत्कालीन माओवादी केन्द्रले १
३. एमाले शून्य
४२ वडामध्ये कांग्रेस १९, एमाले १३, माओवादी ५, एकीकृत समाजवादी २ र स्वतन्त्र ३ वडामा विजयी भएका थिए।

समानुपातिक मत : कांग्रेसको बर्चश्व
समानुपातिकतर्फको मत परिणामले अछाम-१ को भित्री राजनीति अझ स्पष्ट देखाउँछ–
१. कांग्रेस – १४,५२५ मत
२. एमाले – १३,९६८ मत
३. तत्कालीन माओवादी – ७,२२८ मत
४. तत्कालीन एकीकृत समाजवादी– २,७४७ मत
५. रास्वपा- ७८५ मत
रावल आबद्ध नेकपाको समानुपातिक मत (माओवादी र एकीकृत समाजवादी) जोड्दा ९ हजार ९ सय ७५  मात्र पुग्छ।

उम्मेदवारको दाबी : सबैको जित पक्का !
नेकपाका नेताहरू रावलको राष्ट्रिय छवि र अछाममा गरेको योगदानका कारण जित सहज हुने दाबी गर्छन्। रावल स्वयं पनि मतदाताले आफूलाई निर्वाचित गराउनेमा विश्वस्त छन्। कांग्रेस उम्मेदवार भरतकुमार स्वाँर भने मुख्य प्रतिस्पर्धा एमालेसँग भएको बताउँछन्। उता एमाले उम्मेदवार दीपक साउद भने जनाधार, संगठन र ‘नयाँ अनुहार’ आफ्नो बलियो पक्ष भएको बताउँछन्। रास्वपाका उम्मेदवार ओमप्रकाश रावल भने अछाम–१ मा पनि ‘घण्टी बज्ने’ दाबी गर्छन्।

सूर्य, तारा र तरंग : प्रतीकले उल्टिएको राजनीति
अछाम–१ को चुनाव यसपटक प्रतीकात्मक रूपमा पनि रोचक बनेको छ। एमाले स्थापना गराएका भीम रावल आज माओवादीको संगठनात्मक बलमा ‘तारा’ बोकेर मैदानमा छन्। माओवादीबाट उदाएका दीपक साउद भने ‘सूर्य’ बोकेर एमालेका उम्मेदवार छन्।
२०७० मा रावलसँग सूर्य थियो, साउदसँग हँसिया–हथौडा। १२ वर्षपछि प्रतीक उल्टिएका छन्, तर प्रतिस्पर्धा झन् रोचक बनेको छ ।

इतिहासले के भन्छ ?
अछामको चुनावी इतिहास कांग्रेस, कम्युनिस्ट र पञ्चायतकालीन राजनीतिबाट हुँदै आजसम्म आइपुगेको छ। २०७९ मा अछाम–१ कांग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनले जितेको थियो। यसपटक सबै दल एक्लाएक्लै मैदानमा छन्। एमालेका भेट्रान नेता रावल नेकपाबाट उम्मेदवार बनेर अछाम फर्किँदा कांग्रेस २६ वर्षे प्रतीक्षा तोड्ने सपना देखिरहेको छ। अछाम–१ को यो चुनाव विरासत भर्सेस  संगठन, अनुभव भर्सेस नयाँ अनुहारको लडाइँ हो। भीम रावलको राजनीतिक इतिहास भारी छ, तर चुनावी गणित हल्का छैन। अन्तिम फैसला अब फागुन २१ ले नै गर्नेछ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार