Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं ।  आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ।

अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ। तर जीत मात्र पर्याप्त नहुने अवस्था पनि रहेको छ। नेपालले स्कटल्यान्डलाई कति फराकिलो अन्तरले पराजित गर्छ भन्नेमा ठूलो निर्भरता रहनेछ। त्यसका साथै त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि नेपालका लागि निर्णायक बन्नेछ।

नेपालले स्कटल्यान्डलाई हराएर नेदरल्यान्ड्सले थाइल्यान्डलाई पराजित गरेमा नेपाल अघि बढ्ने सम्भावना सबैभन्दा बलियो देखिन्छ। तर यदि नेपालले स्कटल्यान्डलाई जितेर थाइल्यान्डले नेदरल्यान्ड्सलाई हरायो भने नेपाल र स्कटल्यान्ड दुवैको २–२ जितसहित ४–४ अंक हुनेछ। यस्तो अवस्थामा बलियो नेट रनरेट रहेको स्कटल्यान्डलाई उछिन्न नेपालले ठूलो अन्तरको जीत निकाल्नुपर्ने हुन्छ।

यता, नेपाल स्कटल्यान्डसँग पराजित भएमा स्वतः प्रतियोगिताबाट बाहिरिनेछ भने थाइल्यान्ड र स्कटल्यान्ड दुवै टोली छनोट हुनेछन्। नेदरल्यान्ड्स भने यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजय भोगेको थियो। तेस्रो खेलमा भने नेपालले टेस्ट राष्ट्र जिम्बावेविरुद्ध शानदार जित हात पारेको थियो।

१० टोली सहभागी यो प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ। प्रतियोगितामा दुवै समूहबाट शीर्ष तीन टोली ‘सुपर–सिक्स’ चरणमा प्रवेश गर्नेछन्। ‘सुपर–सिक्स’ बाट शीर्ष चार टोलीले आउँदो वर्ष इङ्ग्ल्यान्ड र वेल्समा हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार