Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभामा नेकपाको पकड फुस्कियो ! कांग्रेस बन्यो सबैभन्दा ठूलो दल

नेकपा किन पछाडि पर्‍यो ?

काठमाडौं ।  राष्ट्रियसभा निर्वाचनको नतिजासँगै नेपाली कांग्रेस राष्ट्रियसभाको सबैभन्दा ठूलो दल बनेको छ। आइतबार सम्पन्न निर्वाचनमा कांग्रेसका ९ जना उम्मेदवार विजयी भएसँगै राष्ट्रियसभामा कांग्रेसको सिट संख्या २४ पुगेको हो।  यसअघि पुस ३० गते कांग्रेस सांसद बलदेव बोहोराको निधनपछि कांग्रेस १५ सदस्यीयमा सीमित थियो। तर पछिल्लो निर्वाचनले कांग्रेसलाई फेरि पहिलो दलको स्थानमा पुर्‍याएको छ। उता, यस निर्वाचनमा एक सिट पनि जित्न नसकेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने १७ सिटसहित दोस्रो स्थानमा झरेको छ। यसअघि राष्ट्रियसभामा पहिलो दल रहेको नेकपाका ९ सदस्य यस पटक बिदा भएका छन्।  नेकपा एमाले ११ सिटसहित तेस्रो स्थानमा रहँदा जनता समाजवादी पार्टीका ३ जना सांसद छन्। राष्ट्रिय जनमोर्चा भने १ सिटमा सीमित भएको छ। राष्ट्रियसभामा कुल ५९ सदस्य रहने व्यवस्था छ। तीमध्ये ५६ जना निर्वाचनबाट आउनेछन् भने बाँकी ३ जना राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ।

१८ सिटका लागि निर्वाचन, कांग्रेसका ९ विजयी
१८ पदका लागि भएको निर्वाचनमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए। बाँकी १७ सिटका लागि भएको प्रतिस्पर्धामा कांग्रेसले ९, एमालेले ८ र जनता समाजवादी पार्टी नेपालले १ सिट जितेको छ।
प्रदेशगत नतिजा यस्तो रह्यो

कोशी प्रदेश
महिला क्लस्टरबाट एमालेकी रोशनी मेचे र अन्य क्लस्टरबाट एमालेकै सोमनाथ पोर्तेल निर्वाचित भए। यसअघि नै कांग्रेसका सुनिल थापा निर्विरोध भइसकेका थिए।

बागमती प्रदेश
यहाँबाट गीता देवकोटा र प्रेसप्रसाद दंगाल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।

मधेश प्रदेश
महिला क्लस्टरबाट एमालेकी रेखा झा ७ हजार २२२ मतभारसहित विजयी भइन्। अन्य क्लस्टरबाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७ हजार ७२५ मत ल्याउँदै राष्ट्रियसभामा प्रवेश गरे। यस्तै, मधेशबाट धर्मेन्द्र पासवान र रञ्जित कर्ण पनि निर्वाचित भएका छन्।

गण्डकी प्रदेश
कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा निर्वाचित भए। तिमिल्सिनाले ५ हजार ३३ र देवकोटाले ५ हजार १४ मतभार प्राप्त गरे।

लुम्बिनी प्रदेश
अपाङ्ग समूहबाट कांग्रेस उम्मेदवार बासुदेव घिमिरे निर्वाचित भएका छन्। दाङको लमही–२, बनकट्टा निवासी घिमिरेले ६ हजार ३२२ मतभार पाए। उनका प्रतिस्पर्धी नेकपाका सरल विकले १ हजार ६०१ मतभार प्राप्त गरे। यस्तै, खुला समूहबाट कांग्रेसका चन्द्रबहादुर केसी (गुल्मी) ५ हजार ९७७ मतभारसहित विजयी भए। महिला क्लस्टरबाट एमालेकी रामकुमारी झाँक्रीले ६ हजार ३३० मतभार प्राप्त गर्दै जीत हासिल गरिन्।

कर्णाली प्रदेश 
कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिना रखाल निर्वाचित भएका छन्।

सुदूरपश्चिम प्रदेश
कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लिलाकुमारी भण्डारी विजयी भए। खातीले ३ हजार ९६९ मतभार पाउँदा उनका प्रतिस्पर्धी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मत पाए। भण्डारीले ३ हजार ९८४ मतभारसहित जीत निकाल्दा नेकपाकी रोजी बस्नेतले १ हजार ६७६ मत पाएकी थिइन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार