Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

माधव नेपालको चुनौती को ? रौतहट–१ मा ‘घण्टी’ले बिगार्ला खेल ?

रौतहट । चिसो मौसममा राजनीतिक सरगर्मी ! हेविवेट प्रतिष्पर्धाले रौतहट क्षेत्र नम्बर १ पनि चर्चाको केन्द्रमा छ । यसपटक एमाले हुँदै एकीकृत समाजवादी र अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आइपुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मैदानमा छन् । उनलाई विभिन्न मधेश केन्द्रित दल हुँदै कांग्रेसमा आइपुगेका सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले 'काउण्टर' दिने जमर्को गरेका छन् । उनीमात्र होइन, यो क्षेत्रमा एमालेबाट अजयकुमार गुप्ता र अहिले चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजेश चौधरी मैदानमा छन् । १८ राजनीतिक दलले उम्मेदवार उभ्याउँदा २१ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

प्रमुख दलका उम्मेदवार
१. कांग्रेस- अनिलकुमार झा
२. एमाले- अजयकुमार गुप्ता
३. नेकपा- माधवकुमार नेपाल
४. रास्वपा- राजेश चौधरी
५. जसपा नेपाल- योगेन्द्र राय यादव
६. जनमत- देवेन्द्र मिश्र
७. आम जनता पार्टी- त्रिभुवन साह

यहाँ मुख्य भिडन्त कांग्रेस, एमाले, नेकपासँगै जसपा नेपालको देखिन्छ । अहिले 'घण्टी'को माहोल बनेकाले रास्वपा पनि प्रतिष्पर्धाको लाइनमा उत्रिएको छ । रौतहट–१ मा यसपटक पनि पूर्वप्रधानमन्त्री नेपाल मैदानमा रहँदा चुनावी प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। अहिले माओवादी र एकीकृत समाजवादी मिलेर नेकपा बनेको छ । प्रमुख राष्ट्रिय दलसँगै नयाँ र क्षेत्रीय दलको समेत सहभागिताले निर्वाचनलाई बहुकोणीय प्रतिस्पर्धामा रूपान्तरण गरेको छ।

यसपटक विकास, सुशासन, पहिचान र संघीयताको कार्यान्वयनजस्ता मुद्दा यस निर्वाचनका मुख्य बहसका विषय बन्ने अवस्था छ ।
यसपटक यो क्षेत्रमा कुल मतदाता  १ लाख ८ हजार ७ सय २६ रहेका छन् । २०७९ सालको आमचुनावमा १ लाख २ हजार ४ सय ३६ मतदाता थिए । अहिले ६ हजार २ सय ९० मतदाता थपिएका छन् ।  

यसपटक मतदाताको अपेक्षा :
यहाँका मतदाताले स्वास्थ्य, शिक्षा, रोजगार, सडक/पूर्वाधार, खानेपानी, बलियो संघीय संरचनालाई प्राथमिकतामा राखेका छन् ।

२०७९ सालको आम चुनाव
२०७९ सालको आम चुनावमा कांग्रेस-माओवादी-एकीकृत समाजवादी मिलेर मैदानमा उत्रिएका थिए । त्यसबेला कुन दलका उम्मेद्वारले कति मत पाएका थिए त ?
१. एकीकृत समाजवादी- माधवकुमार नेपाल- ३३,५२२ मत
२. एमाले- अजयकुमार गुप्ता- २६,९२२ मत
३. जनमत- राजेन्द्रप्रसाद साह- १,४११ मत
अन्य दल तथा स्वतन्त्र उम्मेदवारले ५ सय मत पनि कटाएका छैनन् ।

समानुपातिकमा दलहरुले पाएका मत :
१. कांग्रेस- १९,११९ मत
२. एमाले- ११,०८९ मत
३. एकीकृत समाजवादी- ९,५७८ मत
४. जसपा नेपाल- ६,९३५ मत
५. जनमत- ६,२८८ मत
६. माओवादी- २,७९१ मत
७. रास्वपा- ८१९ मत

स्थानीय पालिकाको अवस्था :
रौतहट क्षेत्र नम्बर १ :

यो क्षेत्रमा पाँच वटा नगरपालिका र दुई गाउँपालिकाका विभिन्न वडा यो क्षेत्रमा पर्छन् ।
१. गरुडा नगरपालिका- वडा नम्बर १
२. गढीमाई नगरपालिका- वडा नम्बर ६, ७ र ८
३. गौर नगरपालिका- वडा नम्बर १ देखि ९
४. माधव नारायण नगरपालिका- वडा नम्बर १ देखि ९
५. राजदेवी नगरपालिका- वडा नम्बर १ देखि ९
६. दुर्गाभगवती गाउँपालिका- वडा नम्बर १ देखि ५
७. यमुना गाउँपालिका- वडा नम्बर १ देखि ५

यी स्थानीय पालिका २०७९ को स्थानीय चुनावमा कुन दलको कस्तो अवस्था रहेको थियो त ? यहाँ स्थानीय पालिकामा तत्कालीन स्थानीय पालिका बलियो रहेको थियो । एकीकृत समाजवादीले गौर नगरपालिकाको प्रमुख/उपप्रमुख सहित ९ वडामध्ये ६ वटा वडामा जितेको छ । बाँकी ३ मध्ये एक/एक वडामा कांग्रेस र लोसपा तथा एउटा वडामा स्वतन्त्रबाट वडाध्यक्ष भएका छन् ।

गरुडा नगरपालिकाको वडा नम्बर १ यो निर्वाचन क्षेत्रमा पर्छ, यो वडामा तत्कालीन लोसपाले जितेको छ । त्यस्तै गढीमाई नगरपालिकाको ६, ७ र ८ नम्बर वडा पर्छ । यहाँ कांग्रेसले प्रमुखसहित वडा नम्बर ६ मा जितेको छ । बाँकी ७ र ८ जसपा नेपालले अध्यक्ष पाएको छ । 

माधव नारायणा नगरपालिकामा कांग्रेसले प्रमुखसहित वडा नम्बर ८ जितेको छ भने जसपा नेपालले उपप्रमुखसहित ७ नम्बर वडा जित्यो । त्यस्तै एमालेले १ र ३ नम्बर वडा, एकीकृत समाजवादीले २, ५ र ६ नम्बर वडा, माओवादी ४ नम्बर वडा र लोसपा वडा नम्बर ९ मा जित्न सफल भएको थियो ।

राजदेवी नगरपालिकामा एकीकृत समाजवादीले प्रमुख, उपप्रमुखसहित वडा नम्बर १, ३, ४, ५, ६, ७ र ८ मा बाजी मारेको थियो । कांग्रेस वडा नम्बर २ र ९ मा अध्यक्ष पाउन सफल बनेको थियो । दुर्गाभगवती गाउँपालिकामा माओवादीले प्रमुख, उपप्रमुखसहित वडा नम्बर ३ र ४ तथा कांग्रेसले १, २ र ५ वडा आफ्नो बनाएको थियो ।

यमुनामाई गाउँपालिकामा लोसपाले प्रमुख, उपप्रमुख जित्दा माओवादीले १ र ४, कांग्रेस २, एकीकृत समाजवादी ३ र एमालेले ५ नम्बर वडामा जित हात पारेको थियो । अबको परिणाम हेर्न फागुन २१ पर्खिनै पर्छ ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार