Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ग्राउण्ड जिरोमा गोरखा–२ : बाबुराम ब्याक हुँदा कविन्द्रलाई फाइदा कि चक्रे मिलनलाई ?

गोरखा । गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ फेरि एकपटक राष्ट्रिय राजनीतिले चासोका साथ हेरिरहेको निर्वाचन क्षेत्र बनेको छ। माओवादी आन्दोलनको उद्गमस्थलका रूपमा चिनिने यो क्षेत्र अहिले वाम राजनीति, नयाँ दल र असन्तुष्ट मतदाताको त्रिकोणीय दबाबमा छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ मा ठूला दल, वैकल्पिक शक्ति र स्वतन्त्र उम्मेदवारसहित बहु–कोणीय प्रतिस्पर्धा देखिएको छ। यो पटक यो क्षेत्रमा १३ जना उम्मेदवार छन् ।

को–को छन् चुनावी मैदानमा ?
गोरखा–२ मा यसपटक प्रमुख रूपमा यस्ता उम्मेदवारहरू प्रतिस्पर्धामा छन्–
१. मिलन गुरुङ – नेकपा एमाले
२. प्रकाशचन्द्र दवाडी– नेपाली कांग्रेस
३. लेखनाथ न्यौपाने – नेकपा
४. कविन्द्र बुर्लाकोटी – राष्ट्रिय स्वतन्त्र पार्टी
अघिल्लो निर्वाचनमा बाबुराम भट्टराईले प्रचण्डका लागि यो क्षेत्र छोडेका थिए । बाबुरामका लागि किल्ला मानिने यो क्षेत्रमा यसपटक उनले उम्मेदवारी दिएरपनि अन्तिम समयमा फिर्ता लिए । रास्वपाको सुझाव र आग्रहपछि भट्टराईले गत शुक्रवार उम्मेदवारी फिर्ता लिएको बताएका थिए । गत निर्वाचनमा यो क्षेत्रमा १ लाख ५ हजार २ सय ४० जना मतदाता थिए । यो पटक ३ हजार २ सय ९३ नयाँ मतदाता थपिएका छन् । यो पटक कुल १ लाख ८ हजार ५ सय ३३ जना मतदाता छन् । पहाडी तथा ग्रामीण भौगोलिक बनावटका कारण मतदाता पहुँच आफैंमा चुनौतीपूर्ण छ।

२०७९ को आमनिर्वाचन : माओवादीको पकड, तर सजिलो जित होइन
२०७९ सालको आमनिर्वाचनमा गोरखा–२ बाट तत्कालीन  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका थिए। उनले २६ हजार १ सय ९ मत प्राप्त गरेका थिए । माओवादीको आधार क्षेत्र मानिने गोरखा–२ मा उनको जित अपेक्षित मानिएको थियो । तर पहिलो पटक चुनावमा होमिएको रास्वपाले पनि यहाँ सम्मानजनक मत ल्याएको थियो ।

२०७९ को प्रत्यक्षतर्फको नतिजा :
१. पुष्पकमल दाहाल प्रचण्ड (तत्कालीन नेकपा माओवादी केन्द्र) – २६,१०९ मत
२. कविन्द्र बुर्लाकोटी (रास्वपा) – १२,६३९ मत
३. अब्दस सलाम मिया (एमाले) – ७,३९५ मत
४. सुशील पन्त (राप्रपा) – १,८१३ मत  
यहाँ तत्कालीन माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन थियो । यसै माओवादीको संगठन बलियो रहँदा कांग्रेसको पनि पकड क्षेत्र हो, यो । यी दुई दलसँगै तत्कालीन एकीकृत समाजवादी मिल्दा प्रचण्डले २६ हजार मत कटाएका थिए । तर, एक्लै चुनावी मैदानमा होमिएको रास्वपाले १२ हजार मत सहित पछ्याएको थियो ।

समानुपातिक मत : माओवादीको बर्चश्व
समानुपातिकतर्फको मत परिणामले गोरखा–२ को भित्री राजनीति अझ स्पष्ट देखाउँछ–
१. माओवादी – १९,००० मत
२. कांग्रेस – ११,८८२ मत
३. रास्वपा- ८,९९९ मत
४. एमाले – ६,१८५ मत
५. राप्रपा – १,८४६ मत
६. मंगोल नेशनल अर्गनाइजेशन – १,०२० मत
७. एकीकृत समाजवादी – ३,१६६ मत
अन्य दलहरूको मत संख्या ९ सयभन्दा तल सीमित देखिन्छ। गत चुनावमा रास्वपाजस्ता नयाँ दलले युवामतमा हस्तक्षेप गरेर मत आफ्नो पोल्टामा पारेको थियो ।

स्थानीय तहको सन्देश : तत्कालीन माओवादीको प्रभाव
२०७९ को स्थानीय तह निर्वाचनमा गोरखामा ११ पालिकाहरू छन् –
१. नौ पालिका प्रमुख तत्कालीन माओवादी केन्द्रले जित्यो
२. दुई पालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए
३. छ पालिका उपप्रमुख तत्कालीन माओवादी केन्द्रले जित्यो
४. दुई पालिका उपप्रमुखमा तत्कालीन कांग्रेसका उम्मेदवार विजयी भए

गाउँ तहमा माओवादीको ऐतिहासिक सम्बन्ध र आन्दोलनको स्मृति अझै बलियो छ। तर नयाँ पुस्तामा त्यो भावनात्मक सम्बन्ध कमजोर हुँदै गएको संकेत देखिन्छ।

यसपटक के फरक छ ?
यसपटकको चुनावलाई फरक बनाउने मुख्य कारणहरू–
१. नयाँ मतदाता थपिनु
२. रास्वपाको प्रवेश र ‘पुराना दलप्रति प्रश्न’
गोरखा–२ मा यो चुनाव अब केवल विचारधाराको होइन, उपलब्धि र जवाफदेहिताको जनमत परीक्षण बनेको छ।
गोरखा–२ मा यसपटकको निर्वाचन माओवादीको आधार सुरक्षित रहन्छ कि परिवर्तनको संकेत देखिन्छ ? भन्ने प्रश्नको उत्तर खोज्ने चुनाव हो। इतिहास भारी छ, तर मतदाता हल्का छैनन्। अन्तिम फैसला अब फागुन २१ ले नै गर्नेछ। गोरखा–२ मा यो चुनाव जित–हारभन्दा बढी, राजनीतिक युगान्तरणको संकेत बन्न सक्ने सम्भावना बोकेको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार