NL न्यूज
काठमाडौं । सत्ता उमेरले होइन, रहरले छोडिने कुरा हो भन्ने मान्यतालाई महन्थ ठाकुरले फेरि एकपटक प्रमाणित गरेका छन् । ८२ वर्षको उमेरमा उनले राष्ट्रिय सभा सदस्यको चुनाव जितेका छन् । ७ हजार ७२५ मतसहित उनी विजयी बनेका छन् ।
अब नयाँ प्रश्न जन्मिएको छ— ८२ वर्षे महन्थको संसद यात्रा कस्तो हुनेछ ?
यो कुनै साधारण विजय होइन । यो जित एउटा राजनीतिक मनोविज्ञानको जित हो— छोड्न नसक्ने मनको जित । शरीरले धेरै पहिल्यै संकेत दिइसकेको थियो— अब राजनीति होइन, आराम । उम्मेदवारी दर्ता गर्न जाँदा अरूको हात समात्नुपरेको दृश्य आफैंमा एउटा सन्देश थियो । तर मनले त्यो सन्देश मान्न चाहेन । मनले भन्यो— अझै बाँकी छ । अझै एकचोटि ।
महन्थ ठाकुर नेपाली राजनीतिका ‘लामो अध्याय’ हुन् । कांग्रेसको उपसभामुख, मन्त्री, मधेश आन्दोलनका अगुवा— उनका पदहरू मात्र होइन, उनको समय पनि इतिहासकै हिस्सा हो । कुनै समय राष्ट्रपति र प्रधानमन्त्रीसम्मको प्रस्ताव उनको टेबलमा आएको थियो भन्ने चर्चा राजनीतिक वृत्तमा अझै बाँकी छ । त्यस्तो उचाइमा पुगेका नेताका लागि ‘ग्रान्ड एक्जिट’ गर्ने अवसर सबैलाई मिल्दैन । तर महन्थ ठाकुरले त्यो अवसर लिँदैनन् । उनले राजनीति छोड्ने होइन, लम्ब्याउने बाटो रोजे । यसपटक पनि उनले रोकिने संकेत दिएनन् । ‘अन्तिम पटक’ भन्दै जितेको संसदीय चुनावपछि पनि उनी विश्राममा गएनन् । बरु राष्ट्रिय सभातिर लागे । र, जिते । अब प्रश्न केवल कानुनी वा संवैधानिक छैन । ८२ वर्षमा राष्ट्रिय सभा सदस्य बन्नु गैरकानुनी होइन, असंवैधानिक पनि होइन । तर राजनीति सधैं कानुनले मात्र चल्दैन । राजनीति समयको संकेतले पनि चल्छ ।
के यतिबेला मधेशमा नयाँ पुस्ता छैन ?
के पार्टीभित्र दोस्रो पुस्ता तयार भइसकेको छैन ?
८२ वर्षे नेताले फेरि कुर्सी समाउँदा कसैको पालो काटिएको छैन भन्ने दाबी गर्न सकिन्छ ? अनुभव चाहिन्छ— यसमा विवाद छैन । तर अनुभव भनेको कुर्सीमा टाँसिरहने लाइसेन्स होइन । अनुभव मार्गदर्शनका लागि हो, हस्तान्तरणका लागि हो । सधैं कब्जाका लागि होइन ।
यही सन्दर्भमा जेन–जी आन्दोलनको आवाज सम्झनैपर्छ । जेन–जीले स्पष्ट भनेको थियो— अब पुरानै अनुहार होइन, नयाँ सोच चाहिन्छ । नेतृत्वमा पुस्तान्तरण, जवाफदेहिता र ताजगीको माग सडकदेखि सामाजिक सञ्जालसम्म गुञ्जिएको थियो ।
तर त्यो आवाज महन्थ ठाकुरसम्म आइपुग्यो जस्तो देखिँदैन । ८२ वर्षमा पनि संसद यात्रामा लाग्नु त्यो आवाजसँग ठाडो टकराव जस्तो देखिन्छ ।
महन्थ ठाकुरको योगदान अस्वीकार गर्न सकिँदैन । तर योगदानको सम्मान सधैं पदमै बसेर मात्र हुँदैन । कहिलेकाहीँ ठाउँ छोडेर उदाहरण बन्नु अझ ठूलो योगदान हुन्छ । नेताले आफू कहिले इतिहास बन्ने र कहिले वर्तमानबाट बाहिरिने भन्ने बुझ्न सकेन भने राजनीति योगदान होइन, आसक्ति बन्छ ।
अब महन्थ ठाकुर राष्ट्रिय सभामा जानेछन् । संसद भवनका गल्लीहरू उनका लागि नयाँ होइनन् । नयाँ केवल उमेर हो र समय ।
८२ वर्षे उमेरमा राष्ट्रिय सभाको यो यात्रा देशप्रतिको प्रेम हो कि पदप्रतिको मोह यो बहस अझै खुला छ । तर एउटा कुरा भने पक्का छ यो जितसँगै महन्थ ठाकुरले केवल चुनाव जितेका होइनन्, नेपाली राजनीतिमा नछोड्ने संस्कृतिको निरन्तरता पनि जिताएका छन् ।





प्रतिक्रिया दिनुहोस्