NL न्यूज
काठमाडौं । नक्कली उद्धार कागजात तयार पारेर ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।
सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे छन्। त्यस्तै, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलियालाई पनि पक्राउ गरिएको छ।
यस्तै आरोपमा एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक एवं प्रबन्धक सुभाष केसी पक्राउ परेका छन्। सीआईबीका अनुसार उनीहरूले नक्कली उद्धार कागजात प्रयोग गरी बीमा रकम तथा सेवाशुल्क असुल्ने उद्देश्यले संगठित रूपमा ठगी गरेको आशङ्कामा अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्