NL न्यूज
मोरङ । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा दलित र महिला समूहका उम्मेदवार विजयी भएका छन्। दलित कोटाबाट नेकपा एमालेका सोमनाथ पोर्तेल ७,४२३ मतभारसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी खेमराज सुन्दासले २,३७ मतभार पाएका थिए।
महिला कोटामा गठबन्धनकै रोशनी मेचे ७,१७३ मतभारसहित निर्वाचित भइन्। उनकी प्रतिस्पर्धी नमिता नेउपानेले २,२६८ मतभार ल्याइन्। निर्वाचनमा स्थानीय तहमा २५८ र प्रदेशसभामा ८७ मत खसेका थिए। मतभार प्रणालीअनुसार स्थानीय तहको मतभार १९ र प्रदेशसभाको ५३ तोकिएको थियो।
त्यस्तै, ‘अन्य समूह’मा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भए। पूर्वमन्त्री थापा लामो समयसम्म राष्ट्रसंघीय काममा रहेर राजनीतिमा प्रवेश गरेका थिए।
सोमनाथ पोर्तेल झापाका स्थायी बासिन्दा हुन् र उनी विद्यार्थी संगठन अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेर झापामा संगठनात्मक अनुभवसहित राष्ट्रिय सभामा पुगेका छन्। उनले राष्ट्रिय सभालाई अनुभव र युवा जोसको सङ्गम बनाउनुपर्नेमा जोड दिएका छन्।
रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन्। अल्पसङ्ख्यक मेचे समुदायको सशक्त प्रतिनिधित्व गर्ने उनी विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छन्। मेचेले राष्ट्रिय सभालाई समावेशी लोकतन्त्रको थलो बनाउने आफ्नो सङ्कल्प व्यक्त गरेकी छन्।





प्रतिक्रिया दिनुहोस्