NL न्यूज
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि रास्वपाले स्पष्ट बहुमतसहित सरकार बनाउने दाबी गरेका छन्।
झापा–५ सहित कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी गतिविधि सकेर फर्किएका साहले आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बनेको निवासमा आयोजित भेटघाट कार्यक्रममा रास्वपाका उम्मेदवारहरूसँग छलफल गर्दै यस्तो बताएका हुन्।
भेटघाटका क्रममा प्रतिनिधिसभा निर्वाचनको तयारी, अभियानको अवस्था र रणनीतिबारे विस्तृत छलफल भएको नेताहरूले बताएका छन्। साहले उम्मेदवारहरूलाई ढुक्क भएर चुनावी मैदानमा उत्रन आग्रह गर्दै मतदाताको घर–घरमा पुगेर समस्या सुन्न र समाधानको भरोसा दिन निर्देशन दिएका थिए।
उक्त भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीले बालेनसँग चुनावी रणनीति र अभियानको समीक्षा भएको बताइन्। ‘हाम्रो सरकार बन्दैछ, ढुक्क भएर घर–घरमा जानुस्,’ बालेनको भनाइ उद्धृत गर्दै कार्कीले भनिन्, ‘मतदाताका समस्या बुझेर समाधानका उपाय लिएर जाने हो भने यसपटक स्पष्ट बहुमत सम्भव छ।’ कार्कीका अनुसार साहले उम्मेदवारहरूसँग अहिलेसम्मको चुनावी प्रगति, जनताको प्रतिक्रिया र संगठनात्मक अवस्थाबारे ब्रिफिङ लिएका थिए।
यस्तै, काठमाडौं–१ की उम्मेदवार रञ्जु दर्शनाले पनि भेटमा चुनावी रणनीतिबारे खुलेर छलफल भएको जानकारी दिइन्। उनका अनुसार बालेन्द्रले सबै उम्मेदवारलाई आत्मविश्वासका साथ अभियान अघि बढाउन आग्रह गरेका थिए।
बालेन्द्र साह स्वयं झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उक्त क्षेत्रमा उनी नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सीधा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यही प्रतिस्पर्धालाई लिएर राष्ट्रिय राजनीतिमा विशेष चासो बढेको छ।





प्रतिक्रिया दिनुहोस्