NL न्यूज
दैलेख । दैलेख प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ एकपटक चर्को राजनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ १० जना उम्मेदवार चुनावी मैदानमा छन्। ठूला दलदेखि स्वतन्त्र उम्मेदवारसम्मको उपस्थितिले दैलेख–१ को चुनावलाई रोचक मात्र होइन, अनिश्चित पनि बनाएको छ।
को–को छन् मैदानमा ?
दैलेख–१ मा यसपटकका उम्मेदवारहरू यसप्रकार छन्–
१. नेपाली कम्युनिस्ट पार्टी- अम्बरबहादुर थापा
२. नेपाल मजदुर किसान पार्टी- जगतबहादुर ओली
३. राष्ट्रिय स्वतन्त्र पार्टी- नन्दकिशोर बस्नेत
४. राष्ट्रिय जनमोर्चा- नरबहादुर सिंह
५. नेपाली कांग्रेस- वासना थापा
६. आम जनता पार्टी- मेनका श्रेष्ठ
७. राष्ट्रिय प्रजातन्त्र पार्टी - रणबहादुर सिंह
८. नेकपा (एमाले)- रवीन्द्रराज शर्मा
९. नेकपा (माओवादी)- रामलाल विश्वकर्मा
१०. स्वतन्त्र- लोगबहादुर बोगटी
यस क्षेत्रका कुल मतदाता संख्या ७९ हजार ७ सय १ पुगेको छ, जसका लागि १ सय ४ मतदान केन्द्र तोकिएका छन्।
२०७९ को आमनिर्वाचन : झिनो अन्तरको जित
२०७९ साल मंसिरमा भएको आमनिर्वाचनमा दैलेख–१ बाट तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार अम्बरबहादुर थापा विजयी भएका थिए। उनले एमाले उम्मेदवार रवीन्द्रराज शर्मालाई झिनो मतान्तरले पराजित गरेका थिए।
२०७९ को प्रत्यक्षतर्फको नतिजा :
१. अम्मरबहादुर थापा (एकीकृत समाजवादी) – १८,२९७ मत
२. रवीन्द्रराज शर्मा (एमाले) – १७,४४५ मत
३. कुन्तिकुमारी शाही (राप्रपा) – ४,६१२ मत
यो नतिजाले दैलेख–१ मा वामपन्थी प्रभाव बलियो भए पनि निर्णायक मत कांग्रेस र साना दलतर्फ सर्न सक्ने संकेत दिएको थियो।
समानुपातिक मत : एमाले–कांग्रेसको कडा प्रतिस्पर्धा
२०७९ कै समानुपातिक मत परिणामले क्षेत्रको वास्तविक शक्ति सन्तुलन झल्काउँछ–
१. एमाले – १६,३१३ मत
२. कांग्रेस – १५,८३७ मत
३. एकीकृत समाजवादी – ३,१६६ मत
४. माओवादी – २,६४५ मत
५. राप्रपा – १,८५४ मत
६. रास्वपा- ८८७ मत
अन्य दलहरूको मत संख्या ९ सयभन्दा तल सीमित देखिन्छ।
स्थानीय तहको सन्देश : संगठन कसको बलियो ?
२०७९ को स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय पालिकामध्ये–
क. ५ पालिकामा एमालेले प्रमुख जित्यो
ख. ४ पालिकामा कांग्रेस विजयी भयो
ग. २ पालिकामा माओवादी केन्द्र सफल भयो
उपप्रमुखतर्फ पनि एमाले अग्रस्थानमा रह्यो। यसले गाउँ तहमा एमालेको संगठनात्मक जालो बलियो, कांग्रेसको मध्यम प्रभाव र माओवादीको सीमित तर स्थिर आधार रहेको देखाउँछ।
यसपटक के फरक छ ?
२०७९ को आमनिर्वाचनमा दैलेखमा ७८,२८२ मतदाता थिए। यसपटक १,४१९ मतदाता थपिँदा संख्या ७९,७०१ पुगेको छ। नयाँ मतदाताको भूमिका, दलभित्रका पुनर्संरचना र नयाँ राजनीतिक धार (रास्वपा) को उपस्थितिले चुनावी समीकरण फेरिन सक्ने संकेत देखिन्छ।
उम्मेदवार के भन्छन् ?
कांग्रेस उम्मेदवार वासना थापा, नेकपा उम्मेदवार अम्बरबहादुर थापा र एमाले उम्मेदवार रवीन्द्रराज शर्मा सबै आ–आफ्नो जितप्रति आशावादी छन्। विकास, रोजगारी, सडक, शिक्षा र स्वास्थ्य उनीहरूको मुख्य एजेन्डा बनेका छन्।
दैलेख–१ मा यसपटक चुनाव दल, व्यक्ति र नयाँ मतदाताबीचको परीक्षा बनेको छ। पुरानो जित दोहोरिन्छ कि नयाँ इतिहास लेखिन्छ—यसको अन्तिम फैसला फागुन २१ ले नै गर्नेछ।





प्रतिक्रिया दिनुहोस्