Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अस्ट्रेलिया जाने भनी यूएई पुर्‍याइयो, भविष्य अन्धकार ! ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ — वैदेशिक अध्ययनको सपना देखाइ विद्यार्थीको भविष्यसँग खेलबाड गर्दै करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। युरोप र अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गराइदिने झुठो आश्वासन दिएर विद्यार्थीलाई खाडी मुलुकका अनधिकृत तालिम केन्द्रमा पठाउने काठमाडौँका पाँच कन्सल्टेन्सीका सञ्चालकसहित छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौँका विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि ठगीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्ने को हुन् ?
पक्राउ पर्नेहरूमा
१. काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालित बेष्ट पाथ एजुकेसन प्रालि का सञ्चालक २९ वर्षीय कृष्ण थापा
२. काठमाडौँ–७ स्थित मर्सि एजुकेसन कन्सल्टेन्सी का सञ्चालक रामचन्द्र टन्डन
३. काठमाडौँ–३१ स्थित सिटीहब एजुकेसन नेटवर्क का सञ्चालक सुवास सिलवाल क्षेत्री
४. लाजिम्पाटस्थित कान्तिपुर एब्रोड कन्सल्टेन्सी का सञ्चालक ४८ वर्षीय हेमराज भट्ट
५. सोही कन्सल्टेन्सीका अर्का सञ्चालक ४८ वर्षीय दामोदर ढकालसहित अन्य एक जना रहेका छन्।

सपना अस्ट्रेलियाको, गन्तव्य यूएईका अवैध केन्द्र
पीडित विद्यार्थीका अनुसार, पक्राउ परेकाहरूले अस्ट्रेलियाका मान्यता प्राप्त विश्वविद्यालय वा कलेजमा भर्ना गरिदिने र केही समयमै सहज रूपमा क्रेडिट ट्रान्सफर हुने भन्दै प्रतिव्यक्ति ८ लाखदेखि २२ लाख रुपैयाँसम्म असुल गरेका थिए। तर विद्यार्थीलाई यूएई पुर्‍याएपछि त्यहाँको उच्च शिक्षा मन्त्रालय तथा कमिसन फर एकेडेमिक एक्रिडिटेसन (CAA) बाट मान्यता नपाएका सामान्य तालिम केन्द्रहरूमा भर्ना गराइएको खुलेको छ। प्रहरीका अनुसार, यस्ता तालिम केन्द्रहरू यूएईका ‘फ्रि जोन’ क्षेत्रमा खुलेका थिए, जसको शैक्षिक मान्यता नहुँदा विद्यार्थीको पढाइ र भविष्य दुवै जोखिममा परेको थियो।

१८ कन्सल्टेन्सी ठगीमा सक्रिय ?
पीडित विद्यार्थीहरूले दिएको जानकारीअनुसार यूएईका अवैध इन्स्टिच्युटमा नेपाली विद्यार्थी पठाउन कम्तीमा १८ वटा कन्सल्टेन्सी सक्रिय रहेको पाइएको छ। तीमध्ये प्रो एभिएसन प्रालि, सटक्सी एजुकेसन फाउन्डेसन, एजुपोर्ट एजुकेसन कन्सल्टेन्सी, शिव ह्युम एजुकेसन कन्सल्टेन्सी, अक्सब्रिज इन्टरनेसनल, मेरिट्स इन्टरनेसनल, ब्राइटपथ एजुकेसन, सिटीहब एजुकेसन नेटवर्क, एस्पायर ग्लोबल, कान्तिपुर एब्रोड कन्सल्टेन्ट, मेन्टोरा एजुकेसन, एक्सेल इन्टरनेसनल, सकुरा नेपाल कन्सल्टेन्सी, एजुगेट कन्सल्टेन्सी लगायतका नाम उल्लेख छन्।

मन्त्रालयको चेतावनी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा मन्त्रालयको अनुमति नलिई र गलत सूचना प्रवाह गर्दै वैदेशिक अध्ययनमा पठाउने नाममा हुने यस्ता ठगीबाट सतर्क रहन विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ। कुनै पनि कन्सल्टेन्सीको आधिकारिकता मन्त्रालयको वेबसाइटमार्फत जाँच गर्न सकिने जनाइएको छ। यो घटनाले शैक्षिक परामर्श क्षेत्रभित्र मौलाउँदै गएको विकृति मात्र होइन, विद्यार्थीको भविष्यलाई व्यापार बनाउने प्रवृत्तिलाई पनि नाङ्गो बनाइदिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार