NL न्यूज
सिन्धुली। सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको नेपाल एसबीआई बैंक लुटपाट घटनामा संलग्न एक जना व्यक्तिलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ करिब ७ बजे बैंकमा लुटपाट भएको थियो। लुटपाटपछि प्रहरीले तत्काल सक्रियता बढाउँदै अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन्।
उनका अनुसार बैंक लुटपाटमा संलग्नहरू प्रयोग गरेको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चालकले नकाबधारी व्यक्तिहरू बिहेमा जाने भन्दै गाडीमा चढेको र अन्य विषय आफूलाई जानकारी नभएको बयान दिएका छन्। यद्यपि उक्त भनाइको सत्यताबारे थप सोधखोज र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार नकाबधारी लुटेराहरू बैंकभित्र प्रवेश गरी त्यहाँ कार्यरत सुरक्षा गार्डलाई कुटपिट गर्दै कर्मचारीहरूलाई नियन्त्रणमा लिएका थिए र नगद लुटेर फरार भएका थिए।
प्रहरीले लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।





प्रतिक्रिया दिनुहोस्