NL न्यूज
सिन्धुली। सिन्धुलीको घ्याङ्लेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकमा आज साँझ लुटपाट भएको छ। स्थानीय समयअनुसार साँझ करिब पौने ८ बजे योजनाबद्ध रूपमा आएका लुटेराहरूले बैंक लुटेर फरार भएका हुन्।
स्थानीयवासीका अनुसार लुटेराहरूले बैंकबाट ठूलो मात्रामा नगद बोरामा भरेर लगेका थिए। लुटपाटपछि प्रयोग गरिएको गाडी घटनास्थलबाट करिब तीन किलोमिटर टाढा फेला परेको पूर्व वडा अध्यक्ष रामकाजी वाइबाले जानकारी दिएका छन्।
जंगल क्षेत्रमा एक बोरा पैसा समेत फेला परेको स्थानीयले बताएका छन्। यसले लुटपाटको गम्भीरता र योजनाबद्ध प्रकृतिलाई झनै उजागर गरेको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थल पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ भने एसपी लालध्वज सुवेदी पनि घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
हाल प्रहरी र स्थानीय बासिन्दाले जंगल तथा आसपासका क्षेत्रमा लुटेराहरूको व्यापक खोजी कार्य जारी राखेका छन्। बैंकबाट कति रकम लुटिएको हो भन्ने आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यस घटनाले जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।





प्रतिक्रिया दिनुहोस्