Nepal Lead | नेपाल लिड | Voice of all Generations

Siren Please

नक्कली सर्टिफिकेटको भरमा एसएसपी !

अख्तियारले नेपाल प्रहरीका वरिष्ठ अधिकृतलाई तान्यो विशेष अदालतसम्म

काठमाडौं । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा मुद्दा दायर गरेको छ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत गिरीले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो।

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गिरीले सुरक्षा निकायमा प्रवेश तथा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी विभिन्न ओहोदा, लाभ र सुविधासमेत लिएका थिए।

गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एग्जामिनेसन बोर्ड, पटना बाट एसएलसी उत्तीर्ण गरेको (Roll Code 5501 / Roll No 718) भनी प्रमाणपत्र पेश गरेका थिए। तर सो सम्बन्धमा बिहार विद्यालय परीक्षा समिति, पटनाबाट प्राप्त अभिलेखअनुसार अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको देखिएको र गिरीले पेश गरेको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको अख्तियारले जनाएको छ।

त्यसै नक्कली एसएलसी प्रमाणपत्रको आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट पीसीएल नर्सिङ र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक तहको प्रमाणपत्र लिएको पनि अनुसन्धानबाट खुलेको छ।

उक्त शैक्षिक प्रमाणपत्रहरू पेश गरी गिरीले २०५२ पुस १६ गते नेपाल प्रहरीमा प्रहरी नायब निरीक्षक (प्राविधिक) पदमा नियुक्ति लिएको र सोही नक्कली प्रमाणपत्रकै आधारमा बढुवा हुँदै हाल प्रहरी वरिष्ठ उपरीक्षक पदसम्म पुगेको तथा विभिन्न तालिम र सुविधा लिएको अख्तियारको दाबी छ।

 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

थप समाचार